सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले आफूलाई धनगढी विमानस्थलको विशिष्ट कक्षमा जान नदिएकोप्रति आश्चर्य प्रकट गरेका छन् ।
शनिवार काठमाडौंबाट धनगढी विमानस्थल पुगेका नेता रावलले विमानस्थलको विशिष्ट कक्षमा जान खोज्दा सुरक्षाकर्मीले रोकेका थिए ।
सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री, रक्षामन्त्री समेत भइसकेका भीम रावल अरु बेला विशिष्ट कक्षमा गएर पत्रकार भेटघाट समेत गर्ने गर्दथे तर शनिवार उनलाई विशिष्ट कक्षमा जान दिइएन ।
नेता रावलले पछि सोधखोज गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका कारण आफूलाई विशिष्ट कक्षमा जान नदिइएको थाहा भएको बताएका छन् । धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता रावलले पूर्व जानकारी विना विमानस्थलमा रोक लगाइनु आश्चर्यको विषय भएको बताए ।
‘आजै राष्ट्रपति फर्किने कार्यक्रम रहेछ । यसबारे मलाई प्रशासन वा पार्टी कतैबाट पनि जानकारी थिएन,’ उनले भने, ‘विमानस्थलको विशिष्ट कक्षमा सुरक्षा निकायले रोक्यो । राष्ट्रपतिको भ्रमणको सिलसिलामा सुरक्षा अध्ययन गरेर सुुरक्षाका विभिन्न आयाम हुन्छन्, ती कुरा म बुझ्दछु तर त्यसबारे पूर्व जानकारी गराइएको भए हुन्थ्यो ।’
पूर्व जानकारी विना आफूलाई विमानस्थलको विशिष्ट कक्षमा रोक्ने व्यवहारले आश्चर्य लागेको नेता रावलले बताए । ‘आश्चर्य के लागेको छ भने हामी पनि जनताबाट निर्वाचित भएर संसदमा पुगेका छौं । पार्टीलाई यहाँसम्म पुर्याउने भूमिकामा छौं । सुदूरपश्चिमकै जनताले विश्वास गरेर प्रतिनिधि सभामा पठाएका छन्,’ उनले भने, ‘प्रशासनको जिम्मेवार व्यक्तिले पूर्व जानकारी दिनुभयो । जानकारी अनुसार गर्न मलाई कुनै अप्ठ्यारो छैन । कुनै जानकारी नगराएर त्यसरी त्यहाँबाट किन त्यस्तो व्यवहार गरियो मलाई आश्चर्य लागेको छ । यो गणतन्त्र हो । यो गणतन्त्रमा हामी जनतालाई सार्वभौम भन्छौं । जनताका प्रतिनिधि जो निर्वाचित भएर जान्छन्, प्रतिनिधिको पनि आफ्नो स्थान हुन्छ । हामी जत्तिको व्यक्तिलाई पूर्व जानकारी हुनुपर्छ ।’










