प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ । मिर्गौला प्रत्यारोपण गरिएको ८औं दिन बुधवार अस्पताल परिसरमा आयोजित नियमित पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले यस्तो जानकारी गराएका हुन् ।
'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गौला प्रत्यारोपण गरिएको आज ८औं दिन, उहाँको स्वास्थ्य राम्रो रहेको छ । उहाँले यसअघि जस्तै नियमित खानपान र व्यायाम गरिरहनुभएको छ,' पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्रोतको हवाला दिएर गलत समाचार सम्प्रेसण नगर्न आग्रह गरे । प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गएको बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको थियो ।
प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने झापाकी समीक्षा संग्रैलाले मिर्गौला दिएकी हुन् । समीक्षा आज डिस्चार्ज भएकी छन् । उनी प्रधानमन्त्रीसँगै अघिल्लो साताको सोमवार अस्पताल भर्ना भएकी थिइन् । डिस्चार्ज हुनुअघि समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । ओलीले मिर्गौला प्रत्यारोपण गराएको यो दोस्रोपटक हो ।
पहिलोपटक उनले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यतिबेला उनलाई बुहारी अञ्जान घिमिरेले मिर्गौला दिएकी थिइन् । उक्त मिर्गौलाले काम गर्न छाडेपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो । हेर्नुहोस्, अस्पतालको विज्ञप्ति :











