मोरङ । अपहरणको नाटक गरी बाबुसँगै फिरौती लिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अपहरणको नाटक गरी बाबुसँग फिरौती लिएको अभियोगमा बुढिगंगा गाउँपालिका–३ बाँसवारी बस्ने २४ वर्षीय मुकेश कुमार महतोलाई सुनसरीको भण्टाबारीबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।
गत शुक्रबार घरबाट निस्केका मुकेश कुमारले आफ्नो मोबाइलबाट बाबुलाई फोन गरी आफू अपहरणमा परेको बताएका थिए । उनले अपहरणकारीले ३० लाख रूपैयाँ फिरौती मागेको र प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिएको समेत बताए । पटक पटक फोनमा कुरा गर्दै उनले शुक्रबार र शनिबार आफूलाई लाहानमा, आइतबार जनकपुरमा र सोमबार कोशी ब्यारेजको बोर्डर छेउमा राखेको बताएका थिए ।
सोमबार उनका बाबुले २१ लाख रुपैयाँ फिरौतीको रकम बुझाए । तर घटना अनुसन्धानको क्रममा प्रहरीले तत्काल उनकै घरमा काम गर्ने बुढिगंगा गाउँपालिका–३ बासबारी बस्ने २५ वर्षीय कृष्ण राजवंशीलाई फिरौतीको रकमसहित पक्राउ गर्यो ।
अनुसन्धानका क्रममा मुकेश कुमारले आफूले १ वर्ष अगाडि ५ लाख रूपैयाँ सापट लिँदा मिटर ब्याजका कारण ९६ लाख तिर्नु परेको, अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की दिएकाले आफूले यस्तो गर्नु परेको बताए । उनले परिवारबाट पैसा माग्न लाज भएकाले आफूले अपहरणको नाटक गर्नु परेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।










