खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गरेकी छन् । मन्त्री मगरले सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण गरेकी हुन् ।

निरीक्षणका क्रममा उनले आयोजनाको काममा कुनै असर आउन नदिन निर्देशन दिइन्। “सरकारले तोकेको निर्धारित समयमै पानी आउने गरी आयोजनाको काम रफ्तारमा अघि बढाउनुस्”, उहाँले भिनन्, “आयोजनाको कामप्रति म सन्तुष्ट नै छु । कहीँकतैबाट असर नपुग्ने गरी काम सक्नु होला ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेलम्चीको पानी सिन्धुपाल्चोकस्थित अम्बाथान हुँदै सुरुङबाट काठमाडौँको सुन्दरीजलसम्म ल्याउने कार्यको प्रगति उल्लेखनीय हिसाबले भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

कार्यकारी निर्देशक खत्रीले सुन्दरीजलस्थित आयोजनाको काम तीव्र गतिले अघि बढिरहेको बताए । खत्रीका अनुसार अहिले सुन्दरीजलमा पानीको वास आउट पाईप जडान कार्य भइरहेको र ‘इन्भर्ट लाइनिङ’को काम चलिरहेको छ ।

पानी वितरण पाइप लाइनका लागि आवश्यक पर्ने सामानहरु कार्यस्थलमा आइसकेको उनले जानकारी दिए । “सुरुङमा लाग्ने गेट पनि साइटमा आइसकेको छ”, खत्रीले भने, “अहिले गेट जडानका लागि आवश्यक निर्माण कार्य भईरहेको छ । अब सुन्दरीजलको काम सक्न धेरै समय लाग्दैन ।”

ठेकेदार कम्पनी सिनो हाइड्रोले अहिले अम्बाथानमा हेडवक्र्स )मुख्य बाँध) को काम धमाधम गरिरहेको छ । हेडवक्र्सको काम करिब ५५ प्रतिशत सम्पन्न भइसकेको छ ।

हेडवक्र्सको काम भइरहँदा कपर ड्याम (अस्थायी ड्याम) बनाएर मेलम्चीको पानी सुरुङभित्र पठाउनका लागि काम अघि बढिरहेको खत्रीले बताए ।

त्यसैगरी सुरुङबाट सुन्दरीजलसम्म पानी ल्याई सकेपछि पानी प्रशोधन गर्न सुन्दरीजलमै दुई वटा प्रशोधन केन्द्रसमेत बनाइएको छ ।

मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीमध्ये साढे आठ÷आठ करोड लिटर क्षमताका दुईवटा प्रशोधन केन्द्र सुन्दरीजलमा बनेका छन् । मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नुअघि सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रशोधन गरेर मात्र वितरण गरिने छ ।

सुरुङ मार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो । उक्त केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका ट्याङ्कीमा पानी जम्मा गरिनेछ । त्यसपछि वितरण पाइपबाट घरघरमा पानी पु¥याइनेछ । रासस