(पार्थ मण्डल) झापा । विश्वभर कोरोना भाइरस महामारीको रूपमा फैलिरहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि छिमेकी राष्ट्र भारतसँगै झापाको काँकडभिट्टा, भद्रपुर, केचना, कुमरखोद र गौरीगञ्ज नाकामा उच्च सतर्कता अपनाइएको छ। झापासँग जोडिएको ती नाकाहरूमा भारतबाट नेपाल प्रवेश गर्ने दुवै देशका नागरिकको स्वास्थ्य परीक्षण गर्दै कोरोना भाइरससम्बन्धी सचेतना दिइरहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

नेपालमा मात्र नभई झापाका यी नाकासँग जोडिएको भारतको पश्चिम बङ्गालको पानीटंकी, गलगलिया, विहारको कादोगाँउ, डिगलबैंक र बैरिया नाकामा पनि भारतीय पक्षले नागरिकको स्वास्थ्य परीक्षण गर्दै कोरोना भाइरससम्बन्धी जनचेतना दिइरहेको जनाइएको छ। काँकडभिट्टा र भद्रपुर नाकामा राखिएको हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मीले भारतबाट नेपाल आउने नागरिकको ज्वरो नाप्ने ‘थर्मल गन’ प्रयोग गरी स्वास्थ्य जाँच गरिरहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काँकडभिट्टा नाकामा नेपाल भित्रिने नागरिक ठूलो संख्यामा भित्रिने गरेको स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीसँग एउटा मात्र थर्मल गन रहेकोले भीड व्यवस्थापनमा समस्या परेको छ। पानीट्यांकी नाकाबाट भित्रिने नागरिकहरूले लाइनमा बसेर स्वास्थ्य जाँच गरिरहेका छन्। जाँचको क्रममा उच्च ज्वरो देखिएका भारतीय नागरिकलाई काँकडभिट्टाबाटै फिर्तासमेत गराउन थालिएको छ। यता भद्रपुरमा पनि त्यस्तै समस्या देखिएको छ।

भद्रपुरमा पनि लाइनमा बसाएर एउटा थर्मल गन प्रयोग गरी स्वास्थ्य जाँच गरिँदैछ। भद्रपुरसँग जोडिएको विहारको गलगलिया नाकामा एसएसबीसँगै बसेका स्वास्थ्यकर्मीले थर्मल गन प्रयोग गरेर स्वास्थ्य परीक्षण गरिरहेका छन्। गलगलिया जाने पश्चिम बङ्गालतर्फ एसएसबी पोस्टमा चाहिँ बङ्गाल प्रहरीसहितको स्वास्थ्यकर्मी टोलीले थर्मल गन प्रयोग नगरी सचेतना मात्र दिइरहेको छ।