एजेन्सी, ३ चैत । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसको खोप परीक्षण गरिन लागेको छ ।
प्राणघातक कोरोनाको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप (भ्याक्सिन) अमेरिकाले पहिलोपटक मानवमा परीक्षण सुरु गर्न लागेको हो ।
अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमबार (आज) हुने बिबिसीले जनाएको छ ।
तर ती स्वयंसेवीहरू आफू भने कोरोना भाइरसका सङ्क्रमित नरहेको बताइएको छ । उनीहरुले परीक्षणका लागि खोपका विभिन्न मात्रा लिनेछन् । जुन खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश नरहेको तथा त्यसमा मेसिन्जर आरएनएको सानो भाग भएको बताइएको छ ।
पहिलो चरण परीक्षण हुन लागेको यस खोपमार्फत शरीरको प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुने बताइएको छ । खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने यसमा अनुसन्धानरत वैज्ञानिकहरूको योजना छ ।
साभार: न्युज २४










