जनकपुर । धनुषाबाट एसईईका परीक्षार्थीसँग दुई हजार रुपैयाँ घुस लिने एक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगे हात पक्राउ गरेको छ ।

मिथिला नगरपालिका-२, नक्टाझिजस्थित जनता माध्यमिक विद्यालय प्रधानाध्यापक महेन्द्र महतोलाई आयोगको टोलीले बुधबार पक्राउ गरेको हो । बिहीबारदेखि देशभर एसईई परीक्षा सञ्चालन हुँदैछ । परीक्षाको सबै तयारी पूरा भइसकेकोबेला निर्धारित समयमा परीक्षा फारम नभरेको भन्दै महतोले केही विद्यार्थीलाई परीक्षाबाट वञ्चित हुनसक्ने डर देखाइरहेका थिए । सोहीक्रममा एक विद्यार्थीले आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयमा उजुरी गरी प्रअलाई मागे अनुसारको रकम दिएपछि टोलीले महतोलाई पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समयमा परीक्षा फारम नभरेको हुँदा परीक्षामा भाग नै लिन नपाउने अवस्था रहेको भन्दै प्रअ महतोले पाँच सातहजार रुपैयाँको जोहो गरे मिलाउन सकिने आश्वासन दिएपछि आयोगमा पुगेको ती विद्यार्थीका अभिभावकले जनाएका छन् ।

सुरुमा जति अनुनय गर्दा पनि सम्भव नरहेको बताउने प्रअले दुई हजार पाएपछि प्रवेशपत्र दिने बितिकै टोलीले पक्राउ गरेको आयोगको क्षेत्रीय कार्यालय, बर्दिबासले जनाएको छ ।

घुसमा लिएको रकमसहित पक्राउ परेका प्रअ महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही गरी विशेष अदालतमामुद्दादायर गरिने आयोगले जनाएको छ ।