केबि महरा/काठमाडाै ।

कोरोनाको सम्भाव्य असरलाई ख्याल गर्दै सरकारले आज ( शुक्रबार )देखी लागू हुने गरि यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायतका ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिबन्धित देशका नागरिक मात्र नभएर त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपालीहरुलाई समेत नेपाल प्रवेशमा रोक लगाइने जनाइएकाे छ । साथै, प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन नपाईने भएको छ ।

नेपालमा कुल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत प्रतिबन्ध लगाईएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपाल सरकारले बुधबार गरेको निर्णयअनुसार प्राधिकरणले उडान व्यवस्थापन गर्न एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणका अनुसार यूरोपका ४५ देशबाट नेपाल आउन रोक लगाइएको छ । पश्चिम एशिया र खाडीका १९ देशका साथै जापान र कोरियाबाट पनि आउन पाइने छैन ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीवार बसेको बैठकले आवागमन बन्द गर्नुका साथै कोरोना संक्रमणबाट बच्न विभिन्न निर्णय गरेको हाे ।