काठमाडौं । फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी कोरोना संक्रमित नेपाली युवती आफैँले गाडी चलाएर स्वास्थ्य परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन्। चिकित्सकहरुका अनुसार नेपाली युवती र्‍यालको नमुना दिएर उनी घर फर्किएकी थिइन्। तर, घरमा बस्दा परिवारका अरु सदस्यको सम्पर्कमा नआएकी ती युवतीलाई उद्धृत गर्दै टेकु अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको जीवाणु देखिएको पुष्टी गरेको थियो।

उनी दोहामा चार घन्टा ट्रान्जिट हुँदै काठमाडौँ आएकी थिइन्। त्रिभुवन विमानस्थलमा सामान्य ज्वरो नापेर उनलाई छाडिएको थियो। उनी घरमै क्वारेन्टाइनमा बसेकी थिइन्। स्वास्थ्य मन्त्रालयका अनुसार उनको परिवारका सदस्य स्वास्थ्य क्षेत्रमा आवद्ध भएका कारण घरमा पूर्ण रुपमा क्वारेन्टाइनमा राखिएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फ्रान्सबाट आउँदा जहाजमा उनीसँगै भियतनामी साथी पनि थिइन्। उनीहरु आ-आफ्नो देश लागेका थिए। भियतनाम पुगेपछि उनको साथीलाई क्वारेन्टाइनमा राखियो। स्वास्थ्य जाँच गर्दा उनमा कोरोना संक्रमण देखियो। त्यसलगत्तै उनले नेपालमा रहेकी साथीलाई एसएमएसमार्फत जानकारी गराएकी थिइन्।

यस बीचमा उनलाई सामान्य खोकी लागेको पनि चिकित्सकले बताएका छन्। आइतबार राति साढे १० बजे उनको स्वास्थ्य परीक्षणको रिपोर्ट आएको थियो। डा. भण्डारीका अनुसार अहिले संक्रमित युवतीलाई आइसोलेसन वार्डमा भर्ना गरेर उपचार भइरहेको छ। रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि चिकित्सकहरुले आइतबार राति ११ बजे नै उनलाई घरबाट टेकु अस्पताल ल्याएका थिए।

यसअघि गत १० माघमा चीनको वुहानबाट स्वदेश फर्किएका जनकपुरका ३२ वर्षीय युवामा पनि कोरोना पोजेटिभ देखिएको थियो ।उपचारपछि उनी स्वस्थ भएर घर फर्किसकेका छन्। आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।