काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) बारे जानकारी दिन छुटै मिडिया सेन्टर स्थापना भएको छ । कोरोना सम्बन्धी सूचना एकद्धार प्रणालीबाट सञ्चार माध्यममा प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मिडिया सेन्टर’ स्थापना गरेको हो ।
सवै सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया सेन्टर स्थापना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीले जानकारी दिनुभयो । मिडिया सेन्टरमा हरेक दिन कोभिड–१९ सँग सम्बन्धित सूचनाबारे जानकारी दिन आवश्यकता अनुसार पत्रकार सम्मेलन गर्नुकाे साथै सामाजिक सञ्जाल मार्फतसमेत जानकारी दिने भएकाे छ ।
मिडिया सेन्टरबाट कोभिड–१९ सँग सम्बन्धित चिकित्सक समेत उपस्थित हुने भएकोले सञ्चारकर्मीले उनीहरूसँग आफूलाई आवश्यक सूचना समेत प्राप्त गर्न सहज हुनेछ । त्यस्तै फेसवुक र ट्वीटरबाट कोभिड–१९ सँग सम्बन्धित मन्त्रालयले गरेको गतिविधिसमेत जानकारी गराइने डा कार्कीले जानकारी दिनुभयो । यसैगरी मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिनका लागि छुट्टै वेभसाइट र मोवाइल एप समेत बनाउने भएको छ । रासस










