झापा । फ्रान्सबाट आएकी कोरोना संक्रमित नेपाली युवतीसँग झापाका एक युवक नआएको पुष्टि भएको छ ।
ती युवतीसँगै एउटै विमानमा आएको भन्ने हल्ला चलेपछि कतारबाट झापा आएका बैगुनधुरा निवासी ती युवकको विमान नम्बर नै नमिलेको प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी युवती कोरोना भाइरस संक्रमित भएको भेटिएपछि कतारबाट एउटै विमानमा आएको भन्दै ती युवक आत्तिएर सम्पर्कमा आएका थिए । युवक आफै मंगलबार बिहान भद्रपुरस्थित कलवलगुढी प्रशिक्षण केन्द्रको अस्थायी क्वारेन्टाइनमा पुगेक प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । ‘पछि ती युवकको विवरण बुझ्दै जाँदा कतारबाट नेपाल आएको विमान नम्बर नै नमिलेको पुष्टि भयो,’ उनले भने ।
यता युवकलाई क्वारेन्टाइनमा नराखेर मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा पठाइएको र उनको स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब थ्रोट परीक्षण पठाउने यातायातको साधन ठप्प हुँदा समस्या उत्पन्न भएको अस्पताल प्रशासनले जनाएको छ ।










