काठमाडौँ, १२ चैत । देशभर कोरोना भाइरसको त्रास रहेको छ । देशका विभिन्न भागमा कोरोना भाइरस फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । रुपा गाउँपालिकाले २० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ।
गाउँपालिकाले आफ्नो इलाका भित्रका वैदेशिक रोजगारबाट फर्किएका नागरिकहरुलाई कम्तिमा १४ दिनसम्म राख्नका लागि २० सिट क्षमता भएको क्वारेन्टाइन निर्माण गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
जसमा विदेशबाट फर्किएका नागरिकहरुलाई नियमित स्वास्थ्य परीक्षण गराउने र संक्रमित भइहालेमा थप संक्रमण फैलिन नदिने गाउँपालिकाको तयारी छ । जसमा क्वारेन्टाइनमा बस्ने नागरिकका लागि फ्रि वाईफाई, शुद्ध पिउँने पानी र टेलिभिजन जडान गरिएको छ भने खानपान र औषधी उपचारको व्यवस्था पनि गाउँपालिका आफैँले गर्ने छ।
रुपा गाउँपालिका ५ देउरालीमा रहेको विश्वशान्ति माध्यामिक विद्यालयमा गाउँपालिकाले निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा बस्न पहिलो दिनमै १३ जना गाउँपालिकावासी आइपुगेका छन् । उनीहरु वैदेशिक रोजगारीको शिलशिलामा भारत, साउदी, दुबई, मलेसिया, कतार लगाएतका देशबाट फर्किएका नागरिक रहेको गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए










