भद्रपुर । मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन् । योसँगै मेचीको आइसोलेसन वार्डमा तीन जनाको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । सोमबार दिउँसो झापा गाउँपालिका साबिक कुमरखोद गाविस १ घर भएका १८ वर्षीय एक युवक अस्पतालको सम्पर्कमा आएको अस्पतालका मेसु डाक्टर पीताम्बर ठाकुरले जानकारी दिए ।
१० दिनअघि भारत विहार राज्यस्थित बहादुरगञ्जमा रहेको हजुरआमाको घरमा एक दिन बसेर ती युवक आफ्नो घर झापा फर्किएका थिए । घर आएदेखि उनलाई ज्वरो र रुघाखोकी आउन थालेपछि अस्पताल आएको हो । उनको ज्वरो १०३ डिग्री भन्दा माथि रहेको डा. ठाकुरले बताए ।
कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा उनको थ्रोट स्वाब परीक्षणका लागि मङ्गलवार बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने अस्पतालले जनाएको छ । यसअघि शनिवार बिहान मेचीको आइसोलेसन वार्डमा एकै परिवारका बुबा र छोराको आइसोलेसनमा उपचार भइरहेको छ । दुवै जनाको थ्रोट स्वाबका लागि आज धरान पठाएको छ । उनीहरूको परीक्षण रिपोर्ट बेलुका वा भोलिसम्म आइपुग्ने अस्पतालले जनाएको छ । टाइम्स अफ प्रदेस बाट










