विश्वव्यापी संकटको यो घडिमा आज मानव सभ्यता एक कित्तामा र कोरोनाको महामारी अर्को कित्तामा उभिएका छौं। अहिलेको हाम्रो साझा दुश्मन भनेकै यो भाइरस बनेको छ।
एकै बटनले विश्व ध्वस्त गर्ने शक्तिशाली आणविक हतियार बनाएर आफुलाइ शक्तिशाली सावित गरेका प्रमुख शक्ति राष्ट्रहरु यो सानो आखाले देख्न नसकिने भाइरसको अगाडि घुटा टेक्न विवस बनेका छन। हाम्रोजस्तो सानो विकासोन्मुख राष्ट्रलाई यो विपत्ति झेल्न अवश्य सहज छैन। विश्व आक्रान्त बनाउने यो महामारी सग जुध्न शिवाय हामिसग अर्को विकल्प छैन। तर हाम्रो जस्तो मुलुकलाई यो लडाइ केही हदसम्म सहज पनि छ र केही हदसम्म असहज पनि छ।
सहज यसर्थमा कि यो लडाइँ जित्न केही नगरे पुग्छ, घरमै बसे पुग्छ। असहज यसर्थमा कि केही नगरी घरमा बसिरहन अत्यन्तै कठिन छ। अत्यन्तै ठूलो अनुपातमा नागरिक हातमुख जोर्न दिनभरि काम गर्ने गर्दछन। त्यस्ता नागरिकहरु लाई थोरै राहत पनि ठुलो सहयोग हुनसक्छ। खुशीको एउटा पाटो के छ भने, समस्या नै समस्याको समुद्र भित्र, यो धुर्त र भ्रष्ट समुदाय भित्रपनि सेवाको भावले द्रवीभूत भइ घाउमा मलम लगाउन खोज्ने प्रसस्त मनहरु छन। बाढी जाओस या भुकम्प , आगो लागोस वा आँधी आओस या दीर्घरोगले च्यापोस, एकअर्कालाई सहयोग गर्न हामी सदैव तत्पर हुन्छौं।
अहिले पनि महामारीको बेलामा एकअर्काको दुखमा मल्हम बन्न आतुर हामी खाद्यान्नको जोहो गरि राहत वितरण गर्न तछाड मछाड गरिरहेका छौं। हुनत समाजमा मैले यो गरें है भनेर देखाउनको लागि मात्रै गरेजस्तो गर्ने व्यक्ति पनि नभएका होइनन तर यसले साच्चिकै सेवामा समर्पित हुनेहरुको अवमूल्यन गर्न कदाचित मिल्दैन।
तर राहत कार्यक्रम हरु तामझामका साथ समुहमा भेला भएर गर्ने हाम्रो परिपाटीले संक्रमणको जोखिम भने अत्यधिक बढाउछ। त्यसैले समुहमा वितरण गर्ने परिपाटीको विकल्पमा दुइजना प्रतिनिधिमुलक रुपमा उपस्थित भइ राहत वितरण गर्दा जोखिम कम हुनसक्छ।
हिजोआज राहतका लागि भनेर सामाजिक संजालमा छरपस्ट सामुहिक तस्वीरहरु देख्दा लाग्छ हामी महामारीसग लड्न सहयोग होइन, चाड मनाउन प्याकेज ल्याइरहेका छौं। महामारीले नेता भन्दैन, समाजसेवी भन्दैन, त्यसैले सवैले सावधानी अपनाउनु जरुरी छ। नियम पालना गराउने ओहोदामा बसेर त्यही नियमको धज्जी उडाउन मिल्दैन। त्यसैले सरकारको आदेश पालना गरौं , अरुलाइ पनि प्रेरित गरौं ।
सबै सहयोगी मनहरुले यस्ता अत्यावश्यक कुराहरूलाई मध्यनजर गर्दै सरकार सगको समन्वयमा सेवालाइ निरन्तरता दिन सकौं। सतर्क रहौं, सावधान रहौं, सुरक्षीत रहौं। फोटो फाइल तस्बिर










