भद्रपुर । नेपाल–भारतको सीमा नाका सिलसँगै लकडाउनकै बेला नेपाल प्रवेश गरेका १४ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको छ । कोरोना त्रासपछि भारतबाट रोजगारी छाडेर घर फर्किएका उनीहरू बिहीबार चोर नाकाबाट नेपाल प्रवेश गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनीहरू झापा गाउँपालिका १ स्थित सालमारा कुवाडी भन्ने स्थानबाट झापा प्रवेश गरेपछि स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

उनीहरूको स्वास्थ्य परीक्षण गरी आआफ्नो स्थानीय तहले बनाएको अस्थायी क्वारेन्टाइनमा १४ दिनका लागि पठाएको उनले बताए । कैलालीका दुई जनालाई झापा गाउँपालिकाको डिल्लीराम माविको क्वारेन्टाइनमा राखिएको छ । उनीहरू सबै जना रोजगारीका लागि भारत गए पनि कोरोना त्रासपछि भारतको जम्बो भन्ने ठाउँबाट भागेर घर फर्किएका हुन् ।