काठमाडौँ/ चैत्र २३
राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने बताएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ ।
त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ भने कक्षा ११ को परीक्षा बैशाख २१ गतेबाट हुने छ।
‘
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए अनुसार, एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्चालन गर्न सकिनेछ । जसकारण एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न हुनेछ ।
लकडाउन खुले लगत्तै परीक्षा प्रक्रिया अघि बढाइने छ ।
यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।
त्यसैगरी कक्षा १२ को सबै प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको अध्यक्ष पौडेलले बताएका छन् । ‘सुरक्षण प्रेसमा सबै प्रश्नपत्र छापिइसकेका छन् र प्याक भइसक्यो,’ अध्यक्ष पौडेलले भने, ‘लकडाउने खुलेलगत्तै सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्याइने छ ।’
कक्षा ११ र १२ का गरी ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी रहेका छन् । जसका लागि १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन् ।
साभार : ई कान्तिपुर










