रुकुम पश्चिम – जिल्लाका स्थानीय तहका प्रमुखहरुले संघीय र प्रदेश सरकारले कोरोना रोकथामका लागि आवश्यक सहयोग, समन्वय गर्न कन्जुस्याइँ गरेको आराेप लगाएका छन् ।

कर्णाली प्रदेशका तीन मन्त्रीको सहभागितामा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा शनिबार बेलुका बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा स्थानीय तहका प्रमुखहरुले यस्तो बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीसंग कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफूहरुसँग सामान्य स्वास्थ्य सामग्रीसमेत नभएको अवस्थामा शंकास्पद बिरामी आएमा कसरी काेराेना परीक्षण गर्ने भन्दै प्रश्न गरेका छन् ।

बैठकमा मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले आवश्यक जनशक्ति र सामग्री नभएकाले कोरोनाको संक्रमण देखिएमा भयावह अवस्था आउने बताए ।

‘हामीले हाम्रो तर्फबाट सकेको जति गरिरहेका छौँ, सचेतना जगाउने काम भएको छ, बाहिरबाट आएका व्यक्तिलाई क्वरेण्टीनमा राख्ने, निगरानीमा राख्नेदेखि ठाउँठाउँमा हेल्थडेस्क स्थापनासम्म गरेका छौं,’ उहाँले भन्नुभयाे, ‘तर सदरमुकाममै रहेको नगरपालिकामा बिरामीको ज्वरो नाप्ने थर्मोमिटर समेत छैन।’

चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्माले प्रदेश र संघले आवश्यक बजेटसहित स्वास्थ्य सामग्रीको व्यवस्था गर्न नसकेको गुनासो गरे । कोरोना लक्षित बजेटको व्यवस्था गर्न र त्याे बजेट सिधै स्थानीय तहलाई पठाउने गरी कानुनी व्यवस्था मिलाउन उहाँले प्रदेश सरकारलाई आग्रह गर्नुभयाे ।

यस्तै आठबीसकोट नगरपालिकाका प्रमुख गोर्ख बहादुर केसीले अहिलेको तयारी कोरोना विरुद्धको रिहर्सल मात्र भएको र यो तयारीलाई हेर्दा जिल्लामा कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखियो भने थेग्न नसकिने स्थिति सृजना हुने भन्दै चिन्ता व्यक्त गर्नुभयाे । उज्यालो बाट