झापा । झापामा कोरोना भाइरस सङ्क्रमित बिरामी भेटिएको छैन । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा भर्ना भएका सबै बिरामीको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म मेची अस्पतालको आइसोलेसनमा सात जना भर्ना भएका थिए ।
सातै जनाको कोरोना भाइरस सङ्क्रमणको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेसु डा. पीताम्बर ठाकुरले जानकारी दिए । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको दुई जनाको रिपोर्ट सोमबार बेलुका आएसँगै सबै जनाको रिपोर्ट नेगेटिभ भएको उनले बताए ।
रिपोर्ट नेगेटिभ आएसँगै झापा जिल्ला हालसम्म कोरोनाको जोखिममा नरहेको पाइएको छ । मेचीमा अहिलेसम्म भद्रपुरका कर्णबहादुर विक, सिताराम पाठक, लीला पाठक, गौरादहका रीतबहादुर बस्नेत, झापा गाउँपालिका प्रवेज आलम, कमल गाउँपालिकाका आकाश उराउ र वासु श्रेष्ठको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अब मेचीको आइसोलेसनमा नयाँ बिरामी नरहेको अस्पतालले जनाएको छ ।
प्रदेश १ मा आइसोलेसनबाट ११ जना डिस्चार्ज, ६९ को रिर्पोट नेगेटिभ
प्रदेश १ मा आइसोलेसनमा बसेका ११ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेमध्ये पाँच महिला र छ जना पुरुष छन् । सरकारले विभिन्न अस्पतालहरुमा आइसोलेसन वार्ड नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ का अनुसार आइसोलेसनमा सोमबारसम्म १५ जनालाई राखिएको छ ।
सरकारले प्रदेश १ मा ४३८ आइसोलेसन बेड तयार गरेको छ । यसैगरी ४ हजार ३७ वटा क्वारेन्टाइन बेड तयार गरेको छ । संक्रमित उपचार गर्न ४४ आईसीयू बेड तयारी अवस्थामा छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको कोरोना सूचना डेस्कका अनुसार प्रदेश १ मा अहिलेसम्म कसैलाई पनि आईसीयूमा राखेर उपचार गर्नु परेको छैन ।
सूचना डेस्कले दिएको जानकारी अनुसार सोमबारसम्म क्वारेन्टाइनमा ४४ महिला र ५६६ पुरुषसहित जम्मा ६१० जनालाई राखिएको छ । यता होम क्वारेन्टाइनमा बस्नेको संख्या ५३८ महिला र दुई हजार ३०९ पुरुष गरी जम्मा २ हजार ८४७ जना रहेका छन् ।प्रदेश १ मा हालसम्म ८५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षण गरिएको छ । तीमध्ये ६९ जनालाई कोरोना नभएको पुष्टि भएको छ ।
बाँकीको रिपोर्ट आउन बाँकी रहेको छ ।स्वाब परीक्षण गरिएकामा १८ महिला र ५१ पुरुषको रिपोर्ट आएको हो । परीक्षणका लागि १९ महिला र ६६ पुरुषको स्वाब नमूना धरान पठाइएको छ । प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानबाट कोरोना संक्रमणको परीक्षण भइरहेको छ ।










