कास्की । गण्डकी प्रदेश सरकारले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई दैनिक ५ सय १० रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानिय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा बसेकालाई खाना र नास्ताका लागि दैनिक ५ सय १० रुपैयाँ उपलब्ध गराउने भएको हो ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भन्नुभयो, “बस्ने ठाउँको व्यवस्था स्थानीय र प्रदेश सरकारले समेत गरेको छ र क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि प्रतिदिन ५१० का दरले उपलब्ध गराउने निर्णय भएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न सरकारले तीन वटै सुरक्षा निकायलाई १५ लाखका दरले बजेट निकासा गर्ने निर्णय गरेको छ । नेपाली सेनाको पश्चिम पृतना, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीलाई रकम निकासा गर्ने निर्णय गरिएको सरकारले जनाएको छ ।
त्यसैगरी डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालामा काम गर्ने प्राविधिक, कर्मचारीले एक दिनमा बढीमा दुई हजार २२० का दरले खाने, बस्ने रकमको सीमा तोकेको छ । सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेश मातहत ल्याउनका लागि काम अघि बढाउने भएको छ । जनता समाचार बाट साभार गरिएको










