अहिले कोरोनाभाइरस शब्द धेरैले थाहा पाएका छन् । विभिन्न थरीका कोरोनाभाइरसहरूमध्ये अहिले प्रकोप मच्चाइरहेको भाइरसको नाम कोभिड–१९ हो ।
कोरोनाभाइरस आफैं चाहिँ सन् १९६४ मा पत्ता लागेको हो । त्यो पत्ता लगाउने श्रेय स्कटल्यान्डकी डा जुन अल्मीडालाई जान्छ । उनले लन्डनस्थित सेन्ट टमस हस्पिटलको प्रयोगशालामा भाइरस पत्ता लगाएकी हुन् ।
उनले अनरिकेस अल्मीडासँग सन् १९५४ मा विवाह गरेकी थिइन् र यो जोडी आफ्नी छोरी सहित क्यानडाको टोरन्टो बसाइँ सरेका थिए । ओन्टारियो क्यान्सर इन्स्टिच्युटमा डा अल्मीडाले इलेक्ट्रोन माइक्रोस्कोप उपयोग गरेर भाइरसहरूको गहिरो ज्ञान हासिल गरेको बताइन्छ ।
पछि उनी सेन्ट टमस हस्पिटलमा काम गर्न थालिन् । त्यतिखेर बेलायतको विल्टशायरको स्यालिस्बेरीमा डा डेभिड टायरेल र उनको टोली सामानय रुघाखोकीमाथि अनुसन्धान गरिरहेको थियो । डा टायरेलले बी–८१४ नामक भाइरसको नमूना रुघाखोकी लागेका मानिसबाट जम्मा पारेका थिए । तर प्रयोगशालामा त्यसलाई कल्टिभेट गर्न उनलाई गाह्रो पर्यो ।
पछि डा टायरेलले यी स्याम्पलहरू अल्मीडालाई जाँच्नका लागि पठाए । त्यसैको अध्ययन गर्ने क्रममा अल्मीडाले कोरोनाभाइरस पत्ता लगाइन् । त्यो सूर्यको मुकुट जस्तो काँडेदार थियो अनि त्यसको गोलो आकार थियो ।
डा अल्मीडाले मुसाको हेपाटाइटिस र चल्लाको संक्रामक ब्रोंकाइटिसको भाइरस जाँच गर्दा पनि कोरोनाभाइरसकै जस्तो संरचना देखेकी थिइन् । उनले खिचेको भाइरसको तस्वीर सन् १९६६ मा जर्नल अफ जनरल भाइरोलोजीमा प्रकाशन गरिएको थियो ।
उनले पत्ता लगाएको भाइरसलाई नै पहिलो मानव कोरोनाभाइरस मानिन्छ ।
सन् १९८५ सम्म डा अल्मीडा सक्रिय रहिन् । उनले नै एड्सको एचआईभी भाइरसको पहिलो हाई क्वालिटी इमेज खिचेकी हुन् ।
उनको मृत्यु ७७ वर्षको उमेरमा सन् २००७ मा भएको हो ।










