काठमाण्डौ - पालिकाहरुले काठमाण्डौमा अलपत्र परेका मानिसहरुलाई लैजाने व्यवस्था मिलाउन थालेपछि जडीबुटीमा घर जानेको भिड लाग्न थालेको छ ।
लकडाउन लम्बिँद गएपछि काठमाण्डौमा समस्यामा परेका मानिसहरु हिँडेरै घर जाँदा जोखिम निम्तिने भएपछि अधिकांश पालिकाले आफै गाडीको व्यवस्था गरी उनीहरुलाई लैजान थालेका हुन् ।
मानिसहरु आफ्नो ठाउँमा जानका लागि गाडीको प्रतिक्षा गरिरहेका देखिन्छन् । लकडाउन सुरु भएको एक महिना हुनै लाग्दा पनि खुल्ने सम्भावना नदेखिएको र दैनिक काम गरेर खानुपर्नेहरुलाई समस्या परेपछि हिँडेरै घर जानेहरुको सङ्ख्या बढ्दै गएको थियो । यस्तै समस्यामा परेका मानिसहरुलाई पहुँचको आधारमा मात्र लैजान थालिएको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घले त्यसो नगर्न आग्रह गरेको थियो ।
सरकारले लकडाउन अवधिभर जो जहाँ छ त्यहीँ बस्नुपर्ने र खाद्य सामग्रीको अभाव भए सरकार र पालिकाले राहतको व्यवस्था गर्ने बताउँदै आएको छ ।तर राहत थोरै हुने र यसले जीविकोपार्जनका लागि नपुग्ने भएपछि मानिसहरु हिँडेरै घरतिर जान थालेका थिए ।
पालिका र जनप्रतिनिधिहरुले न्यूनतम स्वास्थ्य प्रोटोकलको पालना गर्दै सुरक्षित साथ गन्तव्यमा पुर्याउने कामलाई व्यवस्थित बनाउन लागेको देखिन्छ ।










