भद्रपुर । दमक नगरपालिका- ३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा चार घर जलेको छ । शिविरमा घर जल्दा करिब १७ लाख ३५ हजार बराबरको क्षति भएको छ । बिहीबार बिहान २ बजे शिविरको बीथ्री हट नम्बर २६० मा रहेको टिकाराम चापागाईँको घरबाट आगो लागेको थियो ।
आगलागीबाट चापागाईँ सहित छिमेकी पदम चापागाईँ, रूप नारायण दुलाल र हर्क बहादुर सुब्बाको घर समेत जलेर प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आगलागीको कारण भने खुलेको छैन । शिविरमा लागेको आगो दमक नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय दमकका प्रहरी, स्थानीयको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा लिएको हो । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।










