एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । यसका लागि यहाँको हेलम्बु गाउँपालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट मासिक ५०० भत्ता उपलब्ध गराउन शुरूआत् गरेको छ ।

सो गाउँपालिकाका सात वटै वडाका १९५ जनालाई भत्ता वितरण गरिएको अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार पालिकाले सो भत्ता वितरणका लाागि चालू आर्थिक वर्षमा २० लाख विनियोजन थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिकरूपमै हामीले त्यसको शुरूआत गरेका हौं । समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो,' उनले भने ।

एकल पुरुष भत्ता लिइरहेकाले ज्येष्ठ नागरिक भत्ता लिन शुरू गरेपछि भने दोहोरो सुविधा पाउने छैनन् ।

हाल पालिकाभित्रका सबै वडामा एकल पुरुषको सङ्ख्या संकलन गर्ने काम भइरहेको र ३५० को हाराहारीमा सो सङ्ख्या रहेको जानकारी सो गाउँपालिकाले दिएको छ ।

अहिले रु ५०० बाट शुरु गरेको यो कार्यक्रम आगामी वर्षहरुमा बढाउँदै लैजाने योजना रहेको अध्यक्ष शेर्पाले जानकारी दिए । देवराज सुवेदी/रासस