विराटनगर : प्रदेश १ मा फेला परेका कोरोना संक्रमितमध्ये थप ८ जना शुक्रबार बिहान डिस्चार्ज हुँदैछन्। संक्रमण पुष्टि भएपछि विराटनगरको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचारका लागि भर्ना गरिएका मध्ये ८ जनालाई डिस्चार्जको अन्तिम तयारी गरिएको हो।
दुई पटकसम्म गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज दिन लागिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। डिस्चार्ज हुने मध्ये ७ जना नेपाली र एक भारतीय नागरिक छन्।
उदयपुरमा संक्रमित अवस्थामा फेला परेका उनीहरुलाई वैशाख ९ गते उपचारका लागि विराटनगर ल्याइएको थियो। कोरोना उपचार केन्द्रमा भर्ना भएको १४ दिन अवधि पुगेका १५ जनाको पीसीआर परीक्षण गर्दा ८ जनाको रिपोर्ट नेगेटिभ र ७ जनाको पोजिटिभ आएको थियो। रिपोर्ट पोजिटिभ आएकालाई भने चिकित्सकको निगरानीमा थप उपचार जारी राखिने छ।
यस अघि बुधबार ६ जना भारतीय नागरिकलाई डिस्चार्ज गरिएको थियो। कोरोना पुष्टि भएका ३१ जनालाई उपचारका लागि केन्द्रमा भर्ना गरिएको थियो। ६ जना डिस्चार्ज भएपछि २५ जना उपचाररत थिए। अब ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन्।
संक्रमित मध्ये २८ उदयपुर, २ झापा र १ भोजपुरका छन्। डिस्चार्ज भएर उपचार केन्द्रबाट विदा हुने तयारीमा रहेका र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोसी अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले बताइन्।
प्रदेश १ मा बिहीबारसम्म कोरोना भाइरस संक्रमणको आशंकामा परीक्षणका लागि १ हजार ७ सय ८९ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ४ सय २२ महिला र १ हजार २ सय ९० पुरुष गरी १ हजार ७ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। ४६ जनाको रिपोर्ट आउन बाँकी छ।
आरडीटी विधिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण गरिएको छ। आरडिटी परीक्षण गरिएका मध्ये १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। आरडिटी गरिएका १ हजार २ सय १२ महिला र ५ हजार ५ सय ६० पुरुष गरी ६ हजार ७ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।










