कपिलवस्तुमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएका दुुई युुवा दश दिन अगाडि चोरबाटोबाट लुकिछिपी नेपाल प्रवेश गरेको पुष्टि भएको हो । कपिलवस्तुु मायादेवी–८ विजुवाका भागेर भारतको मुम्बईबाट नेपाल आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पुष्टि गरे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुुमा परीक्षण गर्दा उनीहरूमा कोरोना–१९ पोजेटिभ देखिएको हो । कपिलवस्तुकै नाकाबाट नेपाल प्रवेश गरेको थाहा पाएपछि उनीहरूलाई स्थानीय समातेर मायादेवीको तिर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा राखिएको थियो । योसँगै प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । संक्रमित युवालाई बुुटवल धागो काराखानास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । उनीहरूसँग अन्य चार जना युवाहरू पनि सँगै आएको बताइएको छ ।
बाँकेको नेपालगञ्जमा २३, रुपन्देहीमा २ र कपिलवस्तुमा दुईजना विरामी छन । बिरामी थपिएसँगै प्रदेशमा कोरोनाको त्रास पनि बढेको छ । पछिल्लो समय भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेबाट जोखिम बढेको छ । रुपन्देहीका संक्रमित युवा पनि वैशाख ५ गते भारतको नयाँदिल्लीबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
उनीहरूको यात्रा बिवरण र सम्बन्ध बारे प्रहरी र स्वास्थ्यकर्मी आजदेखि परिचालन गरिने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा. विनोद गिरीले जनकारी दिए । कपिलवस्तुको सीमा क्षेत्रमा १ हजार २ सय प्रहरी फोर्स तैनाथ गरे पनि लुकिछिपी प्रवेश गर्ने क्रम रोकिएको छैन ।
परीक्षणको लागि किट अभाव भएपछि रुपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण रोकिएको छ । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले किट अभाव भएपछि कपिलवस्तुको क्वारेन्टाइनमा राखिएको थ्रेस स्वाब परीक्षणका लागि काठमाडौं टेकु पठाइएको जानकारी दिए ।










