नेपालको पश्चिम–उत्तरी भूभाग लिपुलेक क्षेत्रमा भारतले मानसरोवर जाने सडक बनाएकोमा परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले लिपुलेकमा भारतले सडक बनाएर उद्घाटन गरेकोप्रति आपत्ति जनाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्रालयले नेपाली भूभागमा भारतले सडक बनाउनुलाई दुःखद भनेको छ । सन् १८१६ को सुगौली सन्धीअनुसार काली (महाकाली) नदीको पूर्वपट्टि रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको समेत मन्त्रालयले स्पष्ट पारेको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल ट्विटरमार्फत लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन भएको सार्वजनिक गरेका थिए । भारतले सडक उद्घाटन गरेपछि नेपालमा जनस्तरमा समेत भारतीय हस्तक्षेपकारी कदमको विरोध भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले नेपाली भूमिभित्र कुनै पनि गतिविधि नगर्न भारतलाई आग्रह समेत गरेको छ ।