काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगमा मदन भण्डारीको विशेष योगदान रहेको बताउनुभएको छ । तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रित दुर्घटनामा परी दिवंगत हुनुभएको २७ वर्ष नाघेको दिन तथा नेकपा एकीकरणको दोस्रो वर्षगाँठको अवसरमा एक शुभकामना वक्तव्य जारी गर्नुहुँदै अध्यक्षद्वयले जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, देशभक्तिपूर्ण अभियानका प्रखर संवाहक र लोकतान्त्रिक आन्दोलनका अग्रज नेता रहेको बताउनुभएको हो ।

अध्यक्षद्वय ओली र प्रचण्डकाे संयुक्त हस्ताक्षरीत वक्तव्यमा लेखिएको छ, ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक र गम्भीर धक्काको अवस्थाबाट गुज्रिरहेको बेला नेपालमा कम्युनिष्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिका रूपमा स्थापित गर्न भण्डारीले प्रतिपादन गर्नुभएका विचारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सिद्धान्तका निम्ति जीवन होइन, जीवनका निम्ति सिद्धान्त हुनुपर्ने मान्यता राख्नुहुने कमरेड मदन भण्डारीले नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासमा विशेष योगदान गर्नुभएको छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पु-याउनुभएको स्मरण गर्नुहुँदै अध्यक्षद्वयले लोकतन्त्रका विश्वव्यापी मूल्य/मान्यतालाई आत्मसात् गर्दै कम्युनिष्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थिति अनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रवादका आधारमा राष्ट्रिय हीतको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक संघर्ष गर्न जननेता मदन भण्डारीको देन विशिष्ट महत्वको रहेको उल्लेख गर्नुभएको छ । ‘सिर्जनात्मक सोंच, राष्ट्र र जनताप्रतिको अविचलित निष्ठा, सादा जीवन र प्रभावशाली वक्तृत्वकलाका कारण जननेता मदन भण्डारी एक स्वतन्त्र सर्वेक्षणका आधारमा नेपालका बीसौं शताब्दीकै सर्वाधिक लोकप्रिय नेताका रूपमा स्थापित हुनुभएको थियो’ वक्तव्यमा उल्लेख छ । ‘४१ वर्षको अल्पायूमै निधन हुनुभएका कमरेड मदन भण्डारीको आँधीमय जीवन हामी सबैका लागि प्रेरणाको विषय रहेको छ’ अध्यक्षद्वयको भनाइ छ ।

त्यस्तै, सोही दुर्घटनामा दिवंगत हुनुभएका तत्कालीन संगठन विभाग प्रमुख जिवराज आश्रितको भुमिकालाई स्मरण गर्दै वक्तव्यमा अध्यक्षद्वयको भनाइ छ, ‘कुशल संगठकका रूपमा प्रतिष्ठित कमरेड जीवराज आश्रितले पार्टी संगठनको विस्तारमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएको थियो । जनआधारित कार्यकर्ता पार्टीको अवधारणाअनुरुप शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नमा उहाँले गर्नुभएको योगदान आज पनि प्रेरणादायी रहेको छ ।’

दिवंगत नेताद्वयका विचार र आदर्शलाई अनवरत अवलम्बन गरिरहने दृढ सङ्कल्प गर्ने उल्लेख गर्नुहुँदै अध्यक्षद्वयले अगाडी भन्नुभएको छ, ‘मदन–आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठीक २ वर्ष अगाडि २०७५ साल जेठ ३ गते हामीले नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक एकीकरण गरेका थियौँ । नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीहरू- नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को एकीकरण गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना हुनु नेपाली राजनीतिको सामान्य परिघटना थिएन ।’

सत्तारुढ नेकपाले आदर्श ठान्दै आएका दुवै लोकप्रिय नेताको रहस्यमय दासढुंगा जीप दूर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन । नेकपाले जारी गरेको वक्तव्यमा नेपाली जनता त्यस घटनालाई सामान्य सडक दूर्घटना मान्न तयार नभएको र यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन विरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिइरहेको उल्लेख छ । २७ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा नेकपाले उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।