काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमको कडा आलोचना गरेका छन् । उनले संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकार नीति तथा कार्यक्रममार्फत कोरोनाले पारेको क्षति र दुःखको सम्बोधन गर्न असफल भएको बताए ।

सरकारको नीति तथा कार्यक्रमलाई कोरा कल्पनाको संज्ञा दिएका देउवाले नीति तथा कार्यक्रमले तीत सन्देश दिएको बताए । देउवाकाअनुसार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका तीन सन्देशहरू यस्ता छन्, 'पहिलो सन्देश- सरकारलाई कोभिड १९ ले गरेको र गर्ने क्षतिबारे ज्ञान छैन, दोस्रो- सरकारलाई जनताको दुःखप्रति कुनै समवेदना छैन । जनताको पीडा बुझ्नसक्ने सरकारसँग हृदय छैन र तेस्रो- सरकारसँग अप्ठ्यारो बेलामा भविष्यका लागि जनता आश्वस्त बनाउने कुनै योजना छैन ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनताले अहिलेको जटिल परिस्थितिमा सरकारबाट यस्तो नीति तथा कार्यक्रमको आशा नगरेको देउवाको भनाइ थियो । सरकारले ल्याउने नीतिले किसान, वैदेशिक रोजगारी गुमाएका, क्वारेन्टाइनमा अलपत्र, साँझ बिहान छाक टार्न मुस्किल परेका, मजदुर, विद्यार्थीको समस्या सम्बोधन गर्ने अपेक्षा राखेकोमा त्यसो हुन नसकेको उनले बताए । कोरोनाले प्रभावित भएका उद्योगीले सरकारबाट विशेष प्याकेज खोजेकोमा सम्बोधन हुन नसकेको देउवाले बताए । स्वास्थ्य क्षेत्रमा सामग्रीको अभाव अन्त्य गर्ने समुचित व्यवस्था गर्ने आश राखेकोमा त्यसो गर्न नसकेको देउको भनाइ थियो ।

सीमा बाहिर बिचल्लीमा रहेका र देशभित्र घरबाहिरको क्षेत्रमा बिचल्लीमा रहेका नागरिकलाई ससम्मान घर पुर्‍याउन नसकेको देउवाको भनाइ थियो । कोरोनाविरुद्ध लड्न सरकारले कुनै पनि तयारी नगरेको उनले बताए । नीति तथा कार्यक्रममा तिनका बारेमा ठोस योजनाको अभाव रहेको उनको धारणा छ ।

एकवर्षे नीति तथा कार्यक्रम उद्येशबाट बरालिएर कोरा कल्पना देखिन्छ । एकवर्षे नीति तथा कार्उयक्रममा १० वर्षे योजना जस्तो देखिन्छ। जनतामा आश विश्वास जगाउन पूर्ण असफल देखिन्छ । पहिलो संक्रमित भेटिएको ४ महिना बितिसक्दा पनि सुरक्षित र विश्सनीय परीक्षण किटको व्यवस्था गर्न नसकेको, स्वास्थ्यकर्मीलाई पीपीई लगायतका सामग्री उपलब्ध गराउन नसकेको देउवाको भनाइ छ ।

सरकारले नीति तथा कार्यक्रममा आत्मप्रसंसा गरेको भन्दै देउवाले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीलाई विगत २ वर्षका नीति तथा कार्यक्रम पढ्न आग्रह गर्दछु । सरकारका दुई वर्षका नीति तथा कार्यक्रम हेरेर लज्जित बन्नुपर्ने स्थिति छ ।'

वर्तमान सरकारले गतवर्षहरूमा ल्याएका नीति तथा कार्यक्रमका योजना पूरा नहुँदै तुहिएको देउवाको भनाइ छ । पुँजीगत खर्चको न्यून भएका घटनाले सरकारले दाबी गरेको विकासको गति तीव्र भएको भन्ने कुरालाई गिज्याइरहेको उनले भने ।

गुरुयोजना नबनाइ कार्यक्रम ल्याएको भन्दै देउवाले भनेका छन् । पुराना योजना पनि दोहोर्‍याउने र कोरोना महामारीविरुद्ध लड्न बजेट छुट्याउने हो भने कसरी स्रोत व्यवस्थापन गर्ने हो भनेर उनले प्रश्न गरे ।

सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको घटना सार्वजनिक भएको अवस्थामा सरकारले भ्रष्टाचार नियन्त्रणको कुरा गर्ने जग हसाउनु भएको देउवाको भनाइ थियो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको प्रधानमन्त्रीले नै ढाकछोप गरेको उनले भनेका थिए ।

सरकारको नीति तथा कार्यक्रम समस्या समाधान उन्मुख नरहेको देउवाको टिप्पणी छ । देशमा धराशयी भएका उद्योग उकास्ने र विदेशमा रोजगारी गुमाएका नेपालीको समस्या समाधान गर्न नीति तथा कार्यक्रम असफल भएको, संघीयता कार्यान्वयनमा सरकार चुकेको पनि उनको भनाइ छ । त्यसरी धराशयी भएका उद्योगमा रोजगारी गुमाउनेलाई कसरी अर्को रोजगारी दिने भन्ने र उद्योगीहरूलाई कसरी राहत दिने भन्ने विषयमा नीति तथा कार्यक्रम नबोलेको देउवाको भनाइ छ ।

'नीति तथा कार्यक्रममा सबैभन्दा बढी राहत चाहिएको पर्यटन क्षेत्रमा केही पुराना योजनाको पुनरावृत्ति बाहेक नविनतम योजना छैनन्,' देउवाले भने ।

सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा राख्नु सकरात्मक भएपनि अपुरो भएको देउवाको भनाइ छ । त्यसमा चीनसँग वार्ता गर्ने योजना नरहेको देउवाको भनाइ थियो । 'चीनसँग पनि उच्चस्तरमा परीणाममुखी वार्ता गर्नुपर्छ,' देउवाले भने । एमसीसी जारी अधिवेशनमा पेश गर्न र पारित गर्न देउवाले माग गरेका छन् । वर्तमान नीति तथा कार्यक्रमले मुलुकलाई अग्रगामी दिशामा लैजानेमा देउवाले आशंका व्‍यक्त गरेका छन् । बजेट व्यवस्थापनमा ध्यान दिन उनले सुझाव दिएका छन् । फाइल तस्बिर।