नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीम रावलले अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) पछाडिको ढोकाबाट आउने कोशिश भइरहेको भन्दै विरोध गरेका छन् । सरकारका नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा दोस्रो दिन सोमवारको छलफलमा भाग लिँदै नेकपा सांसद रावलले स्वाधीन र स्वतन्त्र देशमा आँच पुर्‍याउने सम्झौता कुनैपनि पैसामा नसाट्न उनले आग्रह गरे ।

‘हुन त नीति तथा कार्यक्रममा स्पष्ट आएको छैन, तर एमसीसी पछाडिको ढोकाबाट ल्याउन खोजे जस्तो बुझेको छु । हिजो नेपाली कांग्रेसका नेताले पनि एमसीसी पारित गर्नुपर्छ भन्नुभयो । महाकाली सन्धिमा पनि उहाँले त्यस्तै कुरा गर्नुभएको थियो । १० दश वर्षमा पुनरावलोकन गर्ने कुरा थियो । महाकाली सन्धिको न कार्यान्वयन भयो पुनरावलकोन,’ रावलले भने, ‘एमसीसी राष्ट्रहितविपरीत हुनेछ, स्वाधीन स्वतन्त्र देशको आँच पुर्‍याउने सम्झौता कुनैपनि पैसामा साट्न सकिँदैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अविलम्ब अनुमोदन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

नेता रावलले विदेशमा अलपत्र युवा स्वदेश फर्किन आवाज उठाइरहेकाले तिनीहरू स्वदेश फर्केमा रोजगारीमा लगाउन कृषि क्षेत्रको बजेट बढाउन आग्रह गरे ।

यसअघि शुक्रवार संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । लोकान्तर बाट साभार