(पार्थ मण्डल) झापा। १० जनामा कोरोना सङ्क्रमित पुष्टि भएपछि दक्षिणी झापाको कचनकवल गाउँपालिकामा उच्च सतर्कता बढाइएको छ । भारतबाट लुकिछिपी भित्रिने नेपाली नागरिकलाई सीमा रोक्नुका साथै गाउँघरमा प्रवेश गर्न नदिनलाई उच्च सतर्कता बढाइएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।

पछिल्लो समयमा गाउँपालिकामा कोरोनाको त्रास बढेसँगै बुधवार गाउँपालिकाका जनप्रतिनिधिसहित सर्वपक्षीय बैठक बसेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकले गाउँपालिकाका सात वटै वडा सिल गर्ने निर्णय गरेको अध्यक्ष आलमले बताए । मङ्गलवार पाँच वटा वडा सिल गरिएकोमा बुधवार पुरै गाउँपालिका जेठ ११ गतेसम्मका लागि सिल गरिएको उनले बताए ।

‘अहिले गाउँपालिकामा छिमेकी स्थानीय तहबाट पनि कसैलाई प्रवेश गर्न दिइएको छैन, सम्पूर्ण पसलहरू पनि बन्द गरेका छौँ,’ उनले भने, ‘अति आवश्यक सवारीसाधन बाहेक मोटरसाइकलसमेत बन्द गरेका छौ । सिल गराउनेमा स्थानीय प्रहरी प्रशासन र राजनीतिक दलहरूले पनि सहयोग गरेको छ ।’ अति आवश्यक कामकाज बाहेक घर बाहिर ननिस्कन गाउँवासी समक्ष उनले अनुरोध समेत गरेका छन् ।

थप ६५ जनाको स्वाब सङ्कलन

पथरिया माविको क्वारेनटाइनमा भारतको मुम्बई र दिल्लीबाट लुकिछिपी आएका ३३ जना नेपाली नागरिकलाई राखिएको थियो । उनीहरूको स्वाब परीक्षणका लागि कोसी अस्पताल विराटनगर पठाइएको थियो ।

त्यसमध्ये १० जनाको कोरोना पुष्टि भएको छ, भने २३ जनाको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । उनका अनुसार मङ्गलवार लक्ष्मीप्रसाद देवकोटा मावि सुकुनाडिगी क्वारेनटाइनमा बसेका एक महिलासहित ६५ जनाको स्वाब सङ्कलन गरिएको छ । उनीहरूको स्वाब परीक्षणका लागि विराटनगर पठाएको छौ । उनीहरू पनि भारतका विभिन्न राज्यबाट आएका हुन् ।

मङ्गलवार मात्रै भारतबाट ८० जना आए

मङ्गलवार गाउँपालिकाका ९ जनामा कोरोना पुष्टि भएकै दिन भारतबाट ८० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । उनीहरू भारतको विभिन्न राज्यबाट घर फर्किएका हुन् ।

पाठामारी नाकाबाट २३ र केचना नाकाबाट ५७ जना नेपाली नागरिक गाउँपालिकामा प्रवेश गरेको स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए । उनीहरूलाई ल्याएर सोजै क्वारेनटाइनमा राखिएको छ । ‘मङ्गलवार थप दुई वटा क्वारेनटाइन बनाएका छौ,’ गाउँपालिकाका अध्यक्ष आलमले भने, ‘जानकी आधारभूत पाठामारीमा २३ र महेन्द्ररत्न मावि केचनाको क्वारेनटाइनमा ५७ जनालाई राखेका छौँ । उनीहरूको पनि स्वाब सङ्कलन गर्ने तयारी भइरहेको छ ।’

कचनकवलको सीमा क्षेत्रमा आज ९बुधवार० पनि ५० जना आएर बसेको जानकारी प्राप्त भएको बताउँदै उनले भने, ‘केचनामा ३५ र घेरावारि नाकामा १५ जना रहेका छन् । उनीहरूलाई पनि क्वारेनटाइनमा ल्याएर राखिन्छ ।’ अब बनियानीमा रहेको लक्ष्मी माविमा पनि एक सय बेडको क्वारेनटाइन बनाउने विषयमा तयारी भइरहेको उनले बताए । हाल गाउँपालिकाका क्वारेन्टाइनमा १६५ जना बसेका छन् ।