काठमाडाैं । रक्सौलमा अलपत्र २ सय २२ नेपालीको उद्धार भारतीय सुरक्षाकर्मीको अवरोधका कारण प्रभावित बनेको छ ।जिल्ला प्रशासन कार्यालय, पर्साले बुधबार त्यहाँ अलपत्र नेपालीको उद्धार गर्ने तयारी गरेको थियो । तर माथिबाट आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएपछि रक्सौलस्थित हजारीमल क्वारेन्टाइनमै बस्न उनीहरु बाध्य बनेका छन् ।

‘वीरगञ्जमा रहेका भारतीय नागरिकलाई पठाएर आफ्नो देशका नागरिक ल्याउने विषयमा भारतीय सीमा सुरक्षा बल र त्यस क्षेत्रका डीएमसँग हाम्रो सहमति भएको थियो,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनलाइखबरसँग भने, ‘सहमतिअनुसार भारतीयलाई हामीले फिर्ता पनि पठायौं । तर माथिबाट आदेश नआएको भन्दै त्यहाँका सुरक्षाकर्मीले हाम्रा नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।’रक्सौलमा रहेका नेपालीलाई स्वदेश ल्याउने विषयमा त्यस क्षेत्रका डीएमलगायतसँग समन्वय भइरहेको र सम्भवतः आइतबारसम्म उनीहरूलाई स्वदेश ल्याइने बस्नेतले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बस्नेतका अनुसार, भारतका विभिन्न सहरमा मजदुरी गरी फर्कन लागेका २५ जिल्लाका २ सय २२ जनामध्ये पर्साका ४२ जना छन् । यस्तै, बारा र पश्चिम रुकुमका २३/२३ जना छन् भने काठमाडौं, कैलाली, सुर्खेत, झापालगायत अन्य जिल्लाका छन् ।रक्सौलमा रहेका नेपालीलाई राख्नका लागि जिल्ला प्रशासन कार्यालय पर्साले क्वारेन्टाइनको समेत तयारी गरिसकेको बस्नेतले बताए । सहायक प्रजिअ बस्नेतले भने, ‘काठमाडौंका २ जना छन् । उनीहरूलाई अहिले नपठाउनू भन्ने कुरा आएको छ । त्यसैले उनीहरुलाई वीरगञ्जकै क्वारेन्टाइनमा राख्छौं । बाँकी अन्य जिल्लाकालाई उतै क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित जिल्लाका प्रजिअसँग समन्वय भइसकेको छ ।’

लकडाउन सुरुभएदेखि वीरगञ्जका क्वारेन्टाइन र वीरगञ्जस्थित आफन्तकामा बसेका २ सय १५ जना भारतीय नागरिकलाई मंगलबार भारतको जिम्मा लगाइएको थियो । नेपालबाट भारत जानका लागि आईसीपी पुगेका सयौंको संख्यामा रहेका उनीहरुका नागरिकलाई समेत भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएको बस्नेतले बताए ।