पश्चिम रुकुम घटनामा बेपत्ता भएका एक युवाको शव बुधबार अपरान्ह भेरी नदीमा फेला परेको छ । बुधबार फेला परेको शव जाजरकोटमा १८ वर्षीय लोकेन्द्र सुनारको हो ।सामाजिक सञ्जालतिर भाइरल बनेको तस्विर लोकेन्द्र सुनारको हो । जहाँ उनको शरीर डोरीले बाँधेको अवस्थामा भेटिएको छ । यही तस्विरलाई लिएर यतिबेला हत्या गरी बाँधेर भेरी नदीमा फलिएको भन्दै व्यापक आलोचना भइरहेको छ । तर के सुनारलाई बाँधेर नै नदीमा फलिएको हो त ?

जाजरकोट प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठ भने अहिले नै यसै भन्न सक्ने अवस्थामा नरहेको बताउँछन् । डिएसपी श्रेष्ठका अनुसार उक्त शव स्थानीयले निकालेका थिए । प्रहरी पुग्दा स्थानीयले शव नदीबाट निकालिसकेका थिए । तर युवकको हात बाँधिएको अवस्थामा भने थिएन ।यद्यपि स्थानीयले भने हात बाँधिएको अवस्थामै फेला परेको दाबी गरेको डिएसपीको भनाई छ । उनले भने, ‘शवको उद्धार गर्ने काम स्थानीयले गरेका हुन् । प्रहरी पुग्दा हात बाँधिएको अवस्थामा छैन । तर उद्धार गर्नेले भने हात बाँधेको भनेका छन् । खासमा के हो हामी पनि त्यो बुझ्दैछौँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यद्यपि, प्रहरीले यसबारेमा पनि अनुसन्धान भइरहेको भन्दै हात नै बाँधिएको अवस्थामै भेटिएको हो वा उद्धार गर्दा बाँधेर बाहिर निकालेको हो बुझ्ने प्रक्रियामा रहेको बताएको छ ।उनले भने, ‘शवको प्रकृति हेर्दा हातमा कहीँ पनि निलडाम देखिँदैन । यदी डोरीले बाँधेको हो भने हातमा निलडाम पनि देखिनुपर्ने हो । तर शवमा त्यस्तो केही देखिँदैन । हातमा वा शरीरमा लामो समय बाँधेको जस्तो केही पनि देखिएको छैन । तर घटनास्थलको प्रत्यक्षदर्शी, शवको मुचुल्का आदि हेरेर नै थप केही भन्न सकिन्छ । अहिले नै बाँधेको थियो वा थिएन भन्नु हतार मात्रै हुन्छ ।’