काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रका लागि लडेका सबै शक्ति एक हुनुपर्ने बताउनुभएको छ । १३ औं गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एक शुभकामना सन्देश दिनुहुँदै प्रचण्डले लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार मात्रै नभई गुणात्मक परिर्वतन सहितको प्रतिनिधित्व गराएको बताउनुभएको छ ।
शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले भन्नुभएको छ, ‘यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकार सहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ ।’ सन्देशमा पुर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको औंल्याउनुभएको छ ।
गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जन-आन्दोलनहरुमा आफ्नो प्राणको उत्सर्ग गर्ने शहीदहरुको स्मरण गर्नुहुँदै प्रचण्डले भन्नुभएको छ, ‘गणतन्त्र प्राप्तिका लागि जनयुद्ध र विभिन्न जनआन्दोलनहरुमा आफ्नो प्राणको उत्सर्ग गर्नुहुने महान् सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, बेपत्ता योद्धा र घाइते योद्धाहरुको त्याग र समर्पणप्रति उच्च सम्मान प्रकट गर्दछु ।’
नेकपा अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमार्फत सबैको स्वासथ्य लाभको कामना गर्नुहुँदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को रोकथाम र उपचारका लागि अग्रमोर्चामा खटिनेहरुको पनि उच्च प्रशसा गर्नुभएको छ ।











