काठमाण्डौं। सरकारले आर्थिक वर्ष २०७७।७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको उल्लेख गर्नु भयो।

विनियोजनमध्ये चालू खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४.४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११.७ प्रतिशत छुट्याइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने मन्त्री खतिवडाले उल्लेख गर्नु भयो ।

सो पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड ऋण जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने खुद २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने छ।

अर्थमन्त्रीका रुपमा लगातार तेस्रो बजेट ल्याउनु भएका खतिवडाले गत वर्ष १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गर्नु भएको थियो । जसमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख ११ प्रतिशत विनियोजन गर्नु भएको थियो।