सरकारले आगामी आर्थिक वर्ष (२०७७/७८) को बजेटमार्फत् केहीमा कर बढाएको छ भने केहीमा कर घटाएको छ । कर घटबढकै आधारमा मूल्यवृद्धि हुने गर्छ । यस्तै केही करका दरलाई यथावत पनि राखेको छ । सवारीसाधन आयातको कर र व्यक्तिगत आयकर यथावत छन् भने मदिरा, पेट्रोल डिजेल लगायतको करमा बृद्धि भएको छ ।हेरौँ कुन वस्तुमा कति कर छ ।पेट्रोल–डिजलको कर बढ्यो ।आगामी वषको बजेटले पेट्रोल, डिजेल तथा मट्टितेलमा लाग्ने कर बढाएको छ । यसमा प्रतिलिटर १० रुपैयाँको दरले पूर्वाधार विकास कर लाग्नेछ । यो भन्सार विन्दुमै असुल हुनेछ । यसैगरी पेट्रोलमा चार रुपैयाँ र डिजेलमा २ रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर लाग्नेछ । यस्तै प्रदुषण नियन्त्रण शुल्क पेट्र«ोल डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा लाग्नेछ ।

चुरोट सुर्तीको करमा बृद्धि :यता, स्वास्थ्य जोखिम कर भनेर बिडीमा प्रतिखिल्ली पच्चिस पैसा, चुरोट र सिगारमा प्रति खिल्ली पचास पैसा, खाने सुर्ती, खैनी, गुट्खा र पान मसलामा प्रतिकिलो ४० रुपैयाँले कर लाग्नेछ । धुम्रपान र मद्यपानमा हरेका बजेटले कर बढाउँदै आएको छ ।विदेशी मुद्रा सटहीमा २ प्रतिशत शुल्क:अर्कोतर्फ वदेश अध्ययन गर्न जादा गरिने सटही सुविधामा २ प्रतिशत शुल्क लगाइने छ । व्यक्तिगत आयकर यथावत छ । सवारी साधनको कर परिवर्तन गरेको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुनको भन्सारदर २ हजारले बढ्यो :बजेटले विदेशबाट आयात हुने सुनको भन्सार बढाएको छ । सुनको भन्सारदर प्रति १० ग्राम दुइ हजार रुपैयाँले बढाएको छ । अहिले सुनको भन्सारदर ६ हजार ५ सय रुपैयाँ छ । अब ८ हजार ५ सय रुपैयाँ पुगेको छ । चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढेको छ । अब भन्सारदर प्रति १० ग्राम ८५ रुपैयाँ लाग्नेछ ।

३ वर्षको आयकर बुझाए अघिल्ला वर्षको मिनाहा हुने:स्थायी लेखा नम्बर लिएकाले पछिल्लो ३ वर्षको (२०७३/७४, ०७४ /०७५, ०७५ /७६) आयकर फागुन मसान्तसम्म बुझाए त्यसअघिको आयकर विवरण सरकारले नखोज्ने भएको छ । यसले विगतमा कर नतिरी बसेकालाई फाइदा हुनेछ । त्यस्तो आयमा लाग्ने कर, शुल्क, ब्याज मिनाहा हुनेछ । करको दायरामा आउन चाहनेलाई स्थायी लेखानम्बर लिइ विगत २ वर्षको कर फागुन मसान्तसम्म बुझाए त्यसअघिको सम्पूर्ण आयकर मिनाहा हुनेछ ।

साना व्यवसायीलाई आयकरमा छुट:यसैगरी बार्षिक २० लाख रुपैयाँसम्म कारेबार गर्ने घरेलु तथा साना उद्योगी व्यवसायीलाई ७५ प्रतिशत कर छुटको व्यवस्था छ । २० लाख देखि ५० लाख सम्मको कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाख देखि १ करोड रुपैयाँसम्म कारोबार गर्नेलाई २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । लघु उद्यमलाई आयकर छुटको अवधि २ वर्ष थप गरी सात वर्ष पुर्याइएको छ । महिला उद्यमीद्वारा सञ्चालित लघु उद्यमलाई १० वर्ष पुर्याइएको छ । यो उद्यममा ३ वर्ष थप गरिएको हो ।

बैंकहरुलाई विदेशबाट ल्याउने ऋणको ब्याजमा ५ प्रतिशत कर छुट:यसैगरी बैंकहरुले विदेशबाट ल्याउने पैसाको ब्याज भुक्तानीमा लाग्ने कर बजेटले घटाएको छ । सरकारले ५ प्रतिशत विन्दु कम गरेको हो । बैंकहरुले लगानी गर्न विभिन्न विदेशी सँस्था तथा बैंकबाट ऋण लिदै आएका थिए । लगानी गरेको ब्याज आम्दानी हुने गरेको थियो । त्यसमा १५ प्रतिशत कर तिरेपछि मात्र पैसा लैजान पाउने व्यवस्था थियो । अब ५ प्रतिशत कम गरेपछि १० प्रतिशतमा झरेको छ ।

औषधीको कच्चा पदार्थमा खरिद गर्दा लाग्ने कर फिर्ता हुने:औषधी उद्योगले औषधी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकिङ मेटेरियल स्वदेशी उद्योगबाट खरिद गरेमा खरिद गर्दा तिरेको कर फिर्ता हुनेछ । यसका लागि कर अधिकृत समक्ष निवेदन दिनुपर्नेछ ।