बुटवल । गत शनिवार रुपन्देहीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी १३ वर्षीया एक दलित किशोरीको बलात्कारपछि हत्या भएको भन्दै उनको परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।जिल्लाको देवदह नगरपालिका वडा नम्वर–११ बड्की गुम्नीटोलीको १३ वर्षीया दलित किशोरी अङ्घिरा पासी र स्थानीय २५ बर्षीय वीरेन्द्र भरलाई गत शुक्रवार राति छिमेकीहरुले आपत्तिजनक अवस्थामा पक्राउ गरेका थिए । घरमा अबेरसम्म छोरी नआएपछि उनकी आमा शान्त पासीले छोरी खोज्न छिमेकीहरुलाई गुहार गरे पछि खोज्दै जाने क्रममा आपत्तिजनक अवस्थामा आफुहरुले देखेको एक स्थानीय युवाले बताए ।

अर्को दिन विहान वडाका वडाध्यक्ष अमरबहादुर चौधरीसहितका भद्रभलाद्मीहरु बसेर छलफल गर्दा ती किशोरीले आफूलाई वीरेन्द्र भरले जबरजस्ती गरेको सुनाएकी थिइन् ।तर, दुई लाखसम्म क्षतिपूर्ती दिने लालच देखाएर जवरजस्ती करणीको मुद्दा त्यही थामथुम पार्न खोजिएको आमा शान्ति पासीले बताएकी छन् ।शनिवार दिउँसो तीन बजेसम्म चलेको छलफल पछि वडाध्यक्ष चौधरी लगायतका भलाद्मीहरुले जवरजस्ती करणीको कानुनी पाटो तर्फ जानेभन्दा किशोरीलाई भरको श्रीमति बनाएर घर भित्राउने सुझाव दिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुको सुझाव पछि वीरेन्द्र भरले पनि ‘मैले लैजान्छु’ भन्दै हात समातेर किशोरीलाई घरतर्फ लगेका थिए । तर, घरमा लगेपछि ‘तल्लो जातकी केटी मैले भित्राउनै दिन्न’ भन्दै भरकी आमा अकाली भरले अङ्घिरा पासीलाई कुटपिट लछार पछार गरेको स्थानीयले बताए ।घरभित्र पस्न नदिए पछि ति किशोरी रोहणीखोला तिर आएर बसको उनकी आमाको भनाइ छ । पछि उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । यससम्बन्धमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रदीप सिंह राठौर सँग सम्पर्क राख्दा उनले वीरेन्द्र भर, उनकी आमा अकाली भर र ठूली आमा शीतल भरलाई हिजो पक्राउ गरि अनुसन्धान थालिएको बताए ।

ति किशोरीको भिसरा चेक गराउन पठाईएको र रिपोर्ट आएपछि मात्र बलात्कार पछि हत्या भएको हो वा होइन भन्ने कुरा खुल्ने डिएसपी राठौरको भनाइ छ ।यता, किशोरीकी आमा शान्ति पासीले भने छोरीको बलात्कारपछि हत्या भएको भन्दै किटानी जाहेरी दिएको बताइन् ।

किशोरीको भनाइ अनुसार जवरजस्ती करणीको मुद्दा दर्ता गर्नु पर्नेमा किशोरीलाई बलात्कारको आरोपीकै श्रीमतीका रुपमा घर भित्राइ दिँदा उनको अकालमा ज्यान जान पुगेको छ ।यता, वडाध्यक्ष चौधरीले भने आफुले मात्र नभइ सिंगो गाउँले निर्णय गरेर अङ्घिरा पासीलाई भरको घर भित्राइदिएको प्रतिकृया दिएका छन् ।