शिब बोहोरा / बागलुङ । गलकोट नगरपालिकामा क्रियाशिल विभिन्न दलित सञ्जालहरुले पश्चिम रुकुमको घटनाको भत्सना गर्दै दोषिलाई कारवाही नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत दलित सञ्जालहरुले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । सञ्जालहरुले दलित भएकै कारण दलित समुदायका व्यक्ति २१ औं शताब्दिमा पनि विभिन्न घटनाको सिकार बन्नुपरेको भन्दै अमानवीय घटनाको भत्सना गर्दै दोषिलाई कारवाहीको माग गरेका हुन् ।
विज्ञप्तीमा लेखिएको छ, ‘पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ९ सोती निवासी शुस्मा मल्लसँगको अन्तरजातिय प्रेम सम्बन्धका कारण स्थानीयको कुटाईबाट जेठ १० गते राती जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँका नवराज विक चौरजहारी वडा नम्बर ६ का टिकाराम विक र गणेश बुढा मगरको हत्या भएको र भेरी नगरपालिकाका १८ वर्षीय सन्जु विक, १७ वर्षीय गोविन्द शाही र १८ वर्षीय लोकेन्द्र सुनारलाई वेपत्ता पारिएको घटनाले सिङ्गो दलित र मानव समुदायलाई आक्रोसित बनाएको छ ।’
घटनाले संविधान र लोकतन्त्रको उपहास गरेको भन्दै अन्तरजातिय विवाह एवं प्रेम सम्बन्ध राखेको र दलित भएकै कारण विगतमा काभ्रेका अजित मिजार, सप्तरीका शिवशंकर दास, झापाकी अस्मिता तुलुङ्गे सार्की, तनहुँकी संगिता परियार, सिन्धुपाल्चोककी माया तिरुवा र म्याग्दीकी सविता नेपाली लगायतका दलित युवा युवतीको श्रृंखलावद्ध हत्या गरिएको पनि दलित सञ्जालहरुद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सबै घटनाको आलो घाउमा न्यायिक निरुपण नभइरहेको सन्दर्भमा चौरजहारी हत्या प्रकरणले राज्य प्रणालीमाथि नै दलित समुदायको आशा र भरोसा गुम्दै गइरहेकोप्रति भियन्ताहरुले जाेड दिएका छन् ।
‘संवैधानिक रुपमा वर्नित भइसकेको जातिय विभेदजन्य सामाजिक अपराधलाई प्रश्रय दिँदै अन्तरजातिय प्रेम गरेको कारण व्यक्ति हत्या गरिनु र नरसंहार मच्याउनु निन्दनिय छ । उक्त पासविक घटनामा संलग्न दोषिलाई हदैसम्मको कानुनी कारवाही गर्नुका साथै वेपत्ता पारिएका युवाको यथाशिघ्र खोजी गर्न र मृतकका पीडित परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराई सुरक्षाको प्रत्याभुति दिलाउन जोडदार माग गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ । यस्ता घटनाले कानुनी राज्य र सिंगो समाजकै नाक काटिएको उल्लेख गर्दै कुनै प्रलोभन र राजनैतिक आस्थाका आधारमा दोषिलाई उन्मुक्ति दिन नहुने सञ्जालहरुले माग गरेका छन् ।










