काठमाण्डौं।  सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अमेरिकासँग आर्थिक सहयोग लिने एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्नेमा सत्तारुढ नेकपाका नेताहरुबीच चर्को विवाद भैरहेका बेला बसेको यो बैठकले यस विषयमा आजै निर्णय गर्ने कतिपयले अनुमान गरेका छन।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य डा.भीमबहादुर रावललाई समेत आमन्त्रित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो। तर ज्ञवाली, खतिवडा र रावल भने सचिवालयका सदस्य होइनन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल जारी रहेको र सो बैठकमा दुबै जना अध्यक्ष र सबै सदस्यहरूको उपस्थिति रहेको सल्लाहकार थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री, अर्थमन्त्री, लगायत अनुमोदन गरेर सो सहयोग लिनुपर्ने पक्षमा छन् भने झलनाथ खनाल, भीम रावल, देव गुरुङ, लिलामणि पोखरेल आदि नेताहरुले यसको चर्को विरोध गदै आएका छन् ।