काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड– १९)संक्रमणको जोखिमका कारण दुई महिनादेखि जारी लकडाउनमा रोकिएका तेस्रो देशका नागरिकलाई उद्दार गर्ने निर्णय गरेको छ । सरकारले ल्याउन लागेको सबै खालका आउन चाहने नागरिकलाई भने होइन । निश्चित मापदण्ड तोकेर सरकारले ल्याउने तयारी गरेको छ ।
अध्यागमनले नेपाल जाने आदेश दिएको, आममाफी पाएको, सम्बन्धित देशको अध्यागमनले नेपाल फर्काउन लागेको, भिसा नभएर पनि बसेकोले, केही समयका लागि भ्रमण गर्न वा परिवारका सदस्यलाई भेट्न आई जान चाहको, विद्यार्थी भिसा थप नभएको, कम्पनीले जागिरबाट निकालेको, नेपालमा आमा बाबु वा आफन्तको निधन भएको, श्रीमान वा श्रीमति वा आफन्तको मृत्यु भएको, स्वास्थ्य सम्बन्धी समस्या भएकोलगायतले मात्रै नेपाल आउन पाउँछन् । त्यसका लागि सम्बधित देशको दूतावासमा फर्म भर्नुपर्नेछ ।
फाराम भर्दा तत्काल नेपाल फर्कनपर्नुको कारण लगायत अन्य विवरण अनिवार्य रूपमा खुलाउनु पर्नेछ ।
नेपाल आउनेले पालना गर्नुपर्ने शर्त यस्ता छन्–
१. नेपाल आगमनपश्चात् अनिवार्य रूपमा १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ । त्यसैले विवरण भर्दा होटल क्वारेन्टिनमा बस्ने वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्ने भन्ने व्यहोरा खुलाउनु पर्नेछ ।
२. नेपाल फर्कंदा लागेको हवाइ उडान खर्च र होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्नेछ ।
३. स्वदेश फर्कने व्यक्तिले उडान गर्नु अगावै कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण भएको प्रमाण साथमा राख्नुपर्ने छ र उक्त प्रमाणपत्र नेपाल आगमनपश्चात् विमानस्थलमा समेत देखाउनु पर्नेछ ।
४. १४ दिनसम्म क्वारेन्टिनमा बस्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सुरक्षा प्रोटोकल अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
५. आदेशको उल्लङ्घन गर्ने कुनै पनि व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबाही हुनेछ । काठमान्डू एक्सप्रेस बाट साभार










