दमक। यतिबेला कोरोना भाइरस कोभिड १९ का कारण विश्व नै ठप्प प्राय छ । विश्वभर यसले सबै क्षेत्रमा असर पुर्याएको छ । जसकाकारण लाखौंले आफ्नो रोजगार गुमाए भने कयौैले राहतको आशमा बस्नु पर्ने अबस्था श्रृजना भयो ।
यो महामारीले नेपाललाई पनि अछुतो राखेन, र यहापनि कोरोनाका कारण हजारौंले रोजगारी गुमाए । सरकारले कोरोना भाइरसले महामारीको रुप नलियोस भनेर गत चैत्र ११ गतेबाट लकडाउनको घोषणा गर्यो । दैनिक ज्यालादारी काम गर्ने मजदुरहरुको रोजिरोटी बन्द भयो । उद्योगधन्दा कलकारखाना ठप्प भए । यातायात, शैक्षिक संस्था अहिले पनि ठप्प छन् ।
संक्रमण नबढोस भनेर सरकारले पटक पटक लकडाउनको म्याद थप्दै गएको छ । तर, जति लकडाउनको अबधी थपिदै छ उति नै संक्रमितको संख्या पनि बढ्दै गएको छ । हुनत लकडाउनको अबधी र संक्रमणको कुनै साइनो छैन् । तरपनि यसले दैनिक रोजगारी गर्नेहरुलाई ठूलो असर गरेको छ ।
संक्रमितहरुलाई राख्ने उचित ठाउँको अभाब भएको गुनासो देखी, भारतबाट स्वदेश फर्किएका नेपालीहरुलाई राख्ने क्वारेन्टाइनको अभाब भएको सुनिनु दुःखद कुरा हो । यसतर्फ सरकारको ध्यान जान नसक्नुले सरकार के हेरेर बसेको छ भन्नेहरुलाई बल पुगेको छ । आशा गरौ चाँडै यो समस्या हल हुनेछ ।
तरपनि लकडाउनले व्यापार,व्यवसाय संकटमा परेको छ । यदि यस्तो अबस्था अझै लम्बिदै गयो भने कतिपय भोकभोकै नहोलान भन्न सकिन्न । लकडाउन बढ्दै जाँदा देशमा परेको असर र अभावको सहजताका लागि अब के गर्दा उचित होला ? लकडाउन प्रति तपाइको धारणा के छ ? भनी केहि समाजसेवी तथा व्यवसायीहरुलाई सोधेका छौ, प्रस्तुत छ वहाहरुको भनाइ जस्ताको त्यस्तै ।
राजन दंगाल,अध्यक्ष, होटल व्यवसायीसंघ माइपश्चिम,झापा व्यापार व्यवसाय भन्दापनि आँफू नै स्वस्थ्य रहनु महत्वपूर्ण कुरा हो । त्यसैले अहिले होटल खोल्नु भन्दा पनि आँफू सुरक्षित रहनु उचित हो । होटल संचालन गर्दा सामाजिक दुरी कायम गर्नु पनि अप्ठ्यारो पर्ने भएकाले त्यो सहज छैन् । यातायात,शैक्षिक संस्था, अन्य पसलहरु खुल्ला नभए सम्म होटल खोल्नुको कुनै अर्थ रहदैन् । २०७२ सालको भुकम्पमा ६।७ महिना होटलमा असर गरेको थियो । त्यसैले सरकारले लकडाउन खोलेपनि ६।७ महिना चल्न गाह्रो छ । अन्य पेशा व्यवसाय भित्रीरुपमा चलेपनि हामी भने अहिले नै खोल्ने पक्षमा छैनौ । किनकी अहिले संंक्रमितको संख्या दिनानुदिन झन झन बढ्दै गइरहेएको छ ।
गणेश गौतम,अध्यक्ष,जीवन चक्र समाज,नेपाल सरकारले लकडाउन घोषणा गरेको छ । जसका कारण मानिसहरुलाई समस्या भएको छ । सरकारले स्थानिय तहसँग समन्वय गरेर व्यापार व्यावसाय केहि खुकुलो गरे व्यावसायी तथा मजदुरहरुले केहि राहत पाउने थिए । संक्रमितका लागि क्वारेन्टाइन थप्नु पर्यो । संक्रमित सुरक्षित हुने ठाउ बनाउनु पर्यो । चेक जाँचलाई बढाउनु पर्यो । सरकारले किसानहरुलाई प्राथमिकता दिने भन्दै आएको छ , उनीहरुलाई हिड्न सहज बनाउनु पर्यो । लकडाउनले कतिपय घर जान पाएका छैनन् । उनीहरुलाई घर सम्म जाने वातावरण मिलाएर सहज बनाए उचित हुने थियो । पुरै ठप्प बनाउनु भएन् ।
मोहन ढकाल, निवर्तमान अध्यक्ष,रोटरी क्लब अफ दमक, कार्यसमिती सदस्य दमक उवासंघ,झापा प्रकृतिले दिएको कुरा हो । कोरोनाको नियन्त्रण नै सुरक्षितसँग घरमा बस्ने हो । पृथ्वी नै ठप्प भएपछि व्यापार व्यावसाय ठप्प नै हुने भैहाल्यो । होटल,पर्यटन,यातायात व्यवसायी मारमा परेका छन् । आन्तरीक तथा बाह्य पर्यटक ठप्प भएकाले होटल तथा पर्यटन व्यवसायीहरु झन मारमा परेका छन् । त्यसैले बैंकको व्याज घटाउनु पर्यो । सामान्य अबस्थामा नआएसम्म बैंकले राहत छुट तथा सहुलियत दरमा पुनः कर्जाको व्यवस्था गरिदिए सहज हुने थियो ।
महेन्द्र अधिकारी, अध्यक्ष,सार्वजनिक यातायात केन्द्रिय महासंघ १ नम्बर प्रदेश समग्र भन्नु पर्दा यातायात व्यवसायीलाई अहिल सम्म नपरेको असर परेको छ । यस्तो दुःखद क्षण कहिल्यै आएको थिएन् । मजदुरहरु २।३ महिना देखी घरमा छन् । काम गरेर खाने भएकाले गाह्रो छ । राज्यले मजदुरहरुलाई उपेक्षा गरेजस्तो लागेको छ । बजेटमा पनि हामीलाई समेटिएन् । हामीले यातायात व्यवसायीका तर्फबाट प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्री माननीय हिकमत कार्कीलाइ ज्ञापनपत्र दिइसकेका छौ । मुख्यमन्त्रीलाई पनि केहि दिनमा बुझाउने छौ । सरकारबाट हाम्रो बारेमा केहि धारणा आएन । लकडाउन खुलिहालेपनि तत्काल यातायात सञ्चालन गर्न सक्ने अबस्था छैन् । धेरैदिन गाडी बसेकाले अब गाडी चलाउन खर्च नगरी सम्भब छैन् । त्यसैले सरकारले केहि राहत दिए हामीलाई पनि सहज हुने थियो । मजदुरहरुको खानपानमा राज्यले हेरिदियोस भन्ने हाम्रो धारणा हो ।
राजु खड्का, प्रथम उपाध्यक्ष, दमक उद्योग बाणिज्य संघ,दमक कोभिड १९ ले विश्वलाइ नै आक्रान्त बनाइरहेको अबस्थामा हाम्रो देशमा पनि लकडाउन छ । लकडाउन गर्नु हाम्रो सुरक्षा र स्वास्थ्य कै लागि हो । तर लकडाउन कति गर्ने ? उद्योगधन्दा,कलकारखाना सबै ठप्प छन् । भयवह अबस्था छ । त्यसैले अन्तराष्ट्रिय उडान बन्द गरेर र भारतसँगको सिमामा कडाइ गर्दै जोर विजोर प्रणालीका आधारमा अब उद्योगधन्दा कलकारखाना खोल्नु पर्छ । सामाजिक दुरी कायम गर्दै आवश्यक सामग्रीको प्रयोग गरेर उद्योगधन्दा सञ्चालन गर्नु पर्छ ।










