काठमाण्डौं। ढिलै भएपनि सरकारले विदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याउने भएको छ। अलपत्र परेका नेपाली फर्काउन चार्टर्ड उडान गर्ने तयारी गरिरहेको सरकारले यही समयमा शव पनि ल्याउने भएको हो।
सरकारले बनाएको कार्ययोजनामा शव ल्याउने व्यवस्था मिलाउन परराष्ट्र र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई भनिएको छ।कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा २ सय २७ नेपालीका शव विभिन्न देशमा रोकिएका थिए। शव ल्याउन समय लाग्ने भएपछि ७५ शव विदेशमै अन्त्येष्टि गरिदिन परिवारले भनेका थिए। बाँकी रहेका १ सय ५२ शव ल्याउन सकिएको थिएन।
सबैभन्दा धेरै शव मलेसिया र साउदीमा छन्। मलेसियामा ४८ र साउदीमा ४७ वटा शव छन्। कतारमा २७ र दुबईमा १२, कुवेतमा ११, बहराइनमा ३, ओमानमा १ वटा शव छन्।
नेपालमा ल्याइसकेपछि मृतकका परिवारलाई शव जिम्मा लगाउने व्यवस्था श्रम मन्त्रालयले गर्नेछ। शव ल्याउने खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्ने छन्। तर, विशेष कारण उनीहरुले नब्योहोर्ने अवस्था भएमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट ब्यहोर्ने सरकारको योजना छ।










