काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेका १५७ जना नेपाली नागरिकलाई आज स्वदेश ल्याइएको छ । उनीहरु लिएर आएको एयर अरेवियाको विमान काठमाडौं आइपुगेको छ । सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
युएईको टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना, इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७ जना र अन्य ११ जना गरी १ सय ५७ जना नेपाली उक्त विमानमा आएका हुन् ।
उनीहरुलाई राख्न सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ९ वटा होल्डिङ सेन्टर तयार गरेको छ । यूएईबाट कम्तिमा १८ हजार जना नेपाली स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।










