नेपाल कम्युनिस्ट पार्टी) (नेकपा) की सांसद पम्फा भुसालले विद्युत् महशुल घटाएर भान्साबाट खाना पकाउने ग्यास विस्थापन गर्न सकिने बताएकी छन् । विद्युतीय सवारी साधनमा कर वृद्धिको निर्णय राष्ट्रविरोधी भएको उनले टिप्पणी गरिन् । विनियोजन विधेयकमाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिँदै नेतृ भुसालले सर्वसाधारण जनताले प्रयोग गर्ने विद्युतको महशुल लागतअनुसार कायम गर्न माग गरेकी हुन् ।

‘गत वर्षको भदौ १२ गते मैले यही संसद्‍माविद्युत महशुल घटाउन प्रस्ताव गरेकी थिएँ, १० युनिट बाल्नेलाई निःशुल्क भएको छ । सुधारउन्मुख त भएको छ, तर अपर्याप्त छ भन्ने लाग्छ,’ छलफलमा भाग लिँदै सांसद भुसालले भनिन्, ‘विद्युत् विकासको आधारभूत पूर्वाधार हो । विद्युत् उत्पादन गर्ने कुरा राज्यले गरोस् र लागत मूल्यबाट बिक्री गरोस् ।’ अहिले पनि नेपालमा विद्युत्‌को लागत प्रतियुनिट ४ रुपैयाँ भएपनि जनताले १२ रुपैसासम्मँ तिर्नुपरेको उनले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘विद्युत उत्पादन खासमा राज्यले गर्नुपर्ने हो, जुन दिनबाट निजी क्षेत्रबाट गराइएका छन्, उनीहरूले ५ वर्षमा लागत उठाउने र २५ वर्ष नाफा उठाउने गरेका छन् । विद्युत् प्राधिकरण उनीहरूको विद्युत् खरिद गरिदिने व्यापार कम्पनी जस्तो भएको छ,’ सांसद भुसालले भनिन् ।

विद्युत् व्यापार भन्दापनि यसको उपभोग नेपाली जनताले गर्नुपर्ने र सिँचाइ तथा खानेपानीमा निःशुल्क दिनुपर्ने उनले बताइन । ‘विद्युत्लाई नाफा गर्ने विषय बनाइनु हुन्न, अर्थशास्त्रमा बढी उत्पादन गर्दा लागत कम हुन्छ त्यस्तै विद्युत नेपालीले जति बाल्यो त्यति धेरै छूट हुनुपर्छ,’ उनले भनिन् ।

नेकपाले पार्टीको चुनावी घोषणा पत्रमा बोलेको समाजवादउन्मुख राष्ट्र बनाउने कुरा, कृषि, ऊर्जा र पर्यटनको विकासले मात्र सम्भव हुने उनले बताइन् ।

‘नेपालमा विद्युत् उत्पादन २ हजार मेगावाट नपुग्दै बिक्रीको नारा सुनेकी छु, विद्युत् बेच्ने होइन अधिकतम खपत गर्ने हो । विद्युत खपत गर्नुको सट्टा अहिले विद्युतीय गाडीमा करवृद्धि गरिएको छ ।

यसलाई राष्ट्रघाती भनौं कि नभनौं तर राष्टविरोधी हो । अहिले भएका लाखौं गाडीलाई प्राविधिक रूपमा विद्युतीय बनाउन सकिन्छ । गाडी चार्जिङ स्टेसन खडा गर्दा ५० औं हजारले रोजगारी पाउछन्, यो नगरेर विद्युतीय गाडीमा बढाइएको कर राष्ट्रको हितमा छैन,’ भुसालले भनिन्, ‘डिजेल पेट्रोल र एलपी ग्यासका लागि बिदेसिने मुद्रा नजाँदा देशभित्रका आर्थिक गतिविधि सक्रिय हुन्छन् । चकलेटी तर्क गर्नु हुन्न, विद्युतीय गाडी ल्याउँदा डलर बाहिर जान्छ भने डिजेल पेट्रोलको गाडी के मा अउँछ ?’

नेतृ भुसालले विद्युत् बिक्री नभई स्वेदशमै खपत गर्ने बरु बाह्य देशबाट लगानी गर्न आउनेलाई स्वागत गर्नुपर्ने बताइन् ।

यातायात क्षेत्रमा खपत गर्दा २० हजार युनिट विद्युत् नेपालमै खर्च हुने उनले बताइन् ।

‘तराई क्षेत्रमा विद्युत् वितरण गर्ने प्रशारण लाइन नेपाल होइन भारतीयको हातमा छ, भोलिको दिनमा विद्युत्‌को नाकाबन्दी भएर मधेशले दुःख पाउने काम नहोस,’ भुसालले भनिन्, ‘झन जनताले मन नपराएको तथा राष्ट्रको हितमा नभएको एमसीसी कार्यान्वयन गर्ने एजेन्सी पनि मन्त्रालय नबनोस् ।’