दमक। झापाका व्यापार व्यवसाय संचालन गर्ने विषयमा आज बसेको उद्योग बाणिज्य संघका अध्यक्ष, पदाधिकारी तथा जिल्ला समन्वय समिति झापाका अध्यक्ष सहितको बैठकले ५ सदस्यीय कार्यदल गठन गरेको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा समितिका अध्यक्ष सोमनाथ पोर्तेल सहित बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सवाल नेपाललाई जानकारी दिनु भयो ।
कार्यदलका सदस्यहरुमा बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत देवराज कार्की,झापा जिल्ला उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष राजेन्द्र घिमिरे, गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष जीतबहादुर कार्की, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई छन् ।
कार्यदलले सरकारले संचालन गर्न अनुमति दिएका उद्योगधन्दा कलकारखाना बाट उत्पादित सामानसंग संबन्धित व्यापार व्यवसाय संचालन गर्न एक खाका तयार गर्ने छ ।
कार्यदलले दुई दिन भित्र खाका तयार गर्ने दमक उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । कार्यदलले आजै देखी काम सुरु गरेको छ ।
बैठक दुई दिन पछि विर्तामोडमा बस्ने र कार्यदलले तयार गरेको खाकाका विषयमा छलफल गर्दै अघि बढ्ने श्रेष्ठले जानकारी दिनु भयो । वहाँले व्यापार व्यवसाय संचालन गर्दा जोखिम कम हुने गरि संचालन गरिने पनि बताउनु भयो ।










