सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा विधेयक पेश गर्दै अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था आए संसद्बाट बजेट पारित हुन नसक्ने बताएका छन् ।

बजेट अगाडि विद्युतीय गाडी छुटाउँदा अर्बौ घोटाला भएको भन्दै नेमकिपाका सांसद प्रेम सुवालले संसद्मा अर्थमन्त्री खतिवडाको राजीनामा माग गरेका थिए । आफ्नो राजीनामाको माग गरिएपछि मन्त्री खतिवडाले संसद्मा विचाराधीन विषयमा नबोल्न ध्यानाकर्षण गराए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘रमाइलो प्रश्नबाटै म शुरू गर्छु, विनियोजन विधेयक र अर्थ विधेयक पेश गर्दै मन्त्रीहरूले राजीनामा दिने हो भने कुनै मन्त्रीले पनि बजेट पास गर्न पाउँदैनन् । माननीय सदस्यले के अभिप्रयाले यो भन्नुभएको हो । बजेटमा कर बढाउने सरकारको प्रस्ताव हुन्छ । अहिले नै यसरी प्रवेश गर्ने हो भने संसद्मा विचाराधीन विषयमा पूर्वनिर्णय नगरिदिन आग्रह गर्दछु, त्यो विषय संसद्कै विचाराधीन विषय हो त्यसमा आफ्नो धारणा राख्न त व्यक्तिले पाउँछ नै,’ मन्त्री खतिवडाले भने ।

त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले विद्युतीय गाडीमा अर्बौं घोटाला भएको भन्दै अर्थमन्त्रीको राजीनामा माग गरेका थिए । ‘रेल दुर्घटनामा भारतीय रेलमन्त्री लालबहादुर शास्त्रीले राजीनामा दिए, विदेशी बैंकमा डलर जम्मा गरेका कारण नेपालका अर्थमन्त्री डा. रामशरण महतले राजीनामा दिएका थिए । विद्युतीय गाडीमा अर्बौं घोटाला भएको छ, अर्थमन्त्रीले दिनुपर्छ किन राजीनामा नदिनुभएको ?’ सुवालले प्रश्न गरे ।