समाजवादी पार्टीकी सांसद सरिता गिरीले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएपछि उनी सम्बद्ध पार्टीले त्यसलाई फिर्ता लिन निर्देशन दिएको छ ।

बुधवार साँझ समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले एक विज्ञप्ति जारी गर्दै पार्टीको संसदीय दलको निर्देशन बिना संशोधन हालेको हुँदा उक्त संशोधन तुरुन्त फिर्ता लिन निर्देशन दिएका छन् । ‘यस निर्देशन पालना नगरेमा तपाईलाई पार्टीले कारवाही गर्न बाध्य हुने व्यहोरा जानकारी गराइन्छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गिरीले पार्टीको धारणाविपरित सरकारले सार्वजनिक गरेको नक्सा खारेजीको माग गरेकी थिइन् । लिम्पियाधुरासम्मको भू-भाग स्रोत र प्रमाण नखुलेकाले संसदमा दर्ता भएको विधेयक खारेज गर्नुपर्ने गिरीको माग थियो । गिरीले नेपालको नयाँ नक्सा खारेजीको मागसहित संशोधन दर्ता गराएको संसद सचिवालयको विधेयक शाखाले लोकान्तरलाई बताएको थियो ।

हिजो सैद्धान्तिक छलफल सकिएपछि विधेयकमाथि संशोधनका लागि ७२ घण्टाको समयमा निर्धारण गरिएको छ । मंगलवार संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा जसपाका सांसदहरु लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले प्रस्तावको पक्षमा बोलेका थिए । संविधान संशोधन विधेयमाथि संशोधन प्रस्ताव दर्ता गराएको भन्दै फेसबुकमा स्टाटस लेखेर गिरीले मोवाइल स्वीच अफ गरेकी छन् ।

गिरीको संशोधन प्रस्तावलाई लिएर जसपाभित्र छलफल शुरु भएको छ । जसपाका नेता विश्वदीप पाण्डेले विगतमा बाबुराम भट्टराई प्रधामनन्त्री रहेको समयमा उनलाई मन्त्रीबाट बर्खास्त गरिएको स्मरण गर्दै गिरीलाई कारवाही गर्नुपर्ने उल्लेख गरेका छन् ।

नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाली कांग्रेसको भातृ संगठन तरुणदल लगायतले गिरीमाथि कारवाहीको माग गरेका छन् । देशको भौगोलिक अखण्डताविरुद्ध अभिव्यक्ति दिएको भन्दै स्वय संसदमा पनि केही सांसदले गिरीलाई कारवाहीको माग गरेका थिए । लोकान्तर बाट साभार