कञ्चनपुर। नेपालमाथि भारतको दादागिरी अझै कायमै छ । उसले नेपालका थुप्रै ठाउँ अतिक्रमण गरेको छ । जुन सरकारलाई पनि थाहा छ तर उ चुपचाप छ । यस्तै अतिक्रमणको चपेटामा परेको छ कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ बिचफाँटामा पर्ने प्याराताल ।
यो तालको संरक्षण नहुँदा भारतले अतिक्रमण गरिरहेको हो । भारतले सीमा मिच्दै प्याराताल अतिक्रमण गरेको स्थानीयको भनाइ छ । साढे चार किलोमिटर लम्बाइ र एक सय मिटर चौडाई रहेको यस तालको गहिराइ ७ मिटर रहेको छ ।
भारतबाट आउने जंगली जनावर रोक्न नेपालले एक वर्ष अघि तालछेउमा विद्युतीय तारबार लगाएको थियो । तर भारतीय सुरक्षाकर्मीले नेपालले लगाएको विद्युतीय तारबार समेत काटेर आफ्नो दादागिरी देखाएका छन् ।
नेपाल भारत सीमा छुट्याउने पिल्लरले प्याराताल नेपालमै देखाएको छ । पिल्लर नम्बर १ सय ९५ ढलेको अवस्थामा छ । त्यसलाई भारतले पिल्लरको रुपमा स्वीकार गरेको छैन् । भारतले यतिमात्र गरेको छैन् कि उसले प्याराताल कब्जामा लिएर त्यहाँ नेपालीलाई प्रवेश निषेध समेत गरेको छ ।
२०२० सालतिर नेपाल सरकारले प्यारातालमा ठेक्कामार्फत् माछा मार्ने अनुमति दिने गरेको थियो । पछि २०४२ सालदेखि ताल भारतीय कब्जामा रहेको छ । तर अहिले सम्म पनि नेपाल सरकार बेखबर जस्तो बन्नु दुःखद छ ।










