दमक। झापाको दमक सहित देशभर नै आज साँझ दीप प्रज्वलन गरि खुशियाली मनाइएको छ । संविधान संशोधन विधेयेक सर्वसम्मतिले पारित भएसँगै संविधानको अनुसूचीमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेकसहितका भूमि अटाएको भन्दै देशभर खुसियाली मनाइएको हो ।
यद्यपि यो विधेयेक राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्नेछ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा प्रस्तुत गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई पारित गरियोस् भनेर प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
प्रतिनिधि सभामा दुई सय ७५ सांसद रहेकामा आज दुई सय ५८ जना उपस्थित थिए । उपस्थित सबैले संशोधनको पक्षमा मतदान गरेका थिए। सोहिकारण देशभर नै आम नेपाली जनताले खुसी मनाएका हुन् ।
तर खुशी मनाउँदा विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न भनेर सरकारले जारी गरेको सामाजिक दुरी तथा व्यक्तिगत दुरी कायम गर्नुपर्ने नियमको धज्जी उडाइएको छ ।
आम नागरिकलाई विभिन्न संचार माध्यमबाट सूचना जारी गर्दै लाखौं खर्च गरेर दुरी कायम गर्न स्थानिय निकायले पनि सूचना प्रशारण तथा प्रकाशित गरेको छ ।
तर दमकको डाँफे मुनाल चोकमा नगर प्रमुख रोमनाथ ओली तथा उप प्रमुख गीता अधिकारी सहित विभिन्न राजनीतिकदलका नेता तथा कार्यकर्ताको उपस्थितिले नेताहरुले जे गरेपनि हुने रहेछ कोरोना त सर्वसाधारणका लागि मात्र रहेछ भन्ने जस्तो देखिएको छ ।
नगर प्रमुखले विना मास्कका मानिसको भीडमा दीप प्रज्वलनको नाममा उपस्थित भएर भाषण गर्दा प्रहरी पनि थिए । सामाजिक र व्यक्तिगत दुरी कायम गर भन्दै पसलमा सामान किन्न जाने सर्वसाधारण लाइ थर्काउने प्रहरीले प्रमुख तथा उपप्रमुख उपस्थित भएको कार्यक्रममा किन यो बोल्न सकेन् ? त्यो प्रहरी प्रशासनले जानोस ।
तर अरुलाइ नगर प्रहरी लगाएर माइकिंग गर्दै हिड्न लगाउने प्रमुख उपप्रमुखले चाँहि किन नसोचेका होलान ? के आगामी दिनमा यि जनप्रतिनिधीले सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्न नगरबासीलाइ भन्ने अधिकार रहन्छ ? यदि यो भीडमा कोहि संक्रमित रहेछन भने भोलि दमकको अबस्था के होला ? त्यसले महामारीको रुप लियो भने त्यसको जिम्मा कसले लिन्छ ? यसतर्फ नगर प्रमुख,उपप्रमुख तथा राजनीतिक दलका नेताहरुको ध्यान नजानु दुःखद कुरा हो ।
यो भीडबाट आम नागरिकमा यहि प्रश्न उब्जिएको छ । नागरिकलाइ लकडाउनको नाममा घरमै बस्न पटक पटक म्याद थप्ने तर जनप्रतिनिधीले चाँहि मनपरी गर्न मिल्छ ? यसतर्फ संबन्धित निकायको बेलैमा ध्यान जावस । हुनत यस्तो दृश्य दमकमा मात्र होइन् । विर्तामोडमा पनि देखियो । काठमाण्डौको शहीद गेट अगाडी पनि देखियो । अझ भनौ दीप प्रज्वलन गरिएको देशभर नै देखियो । यसले लकडाउन राजनीतिक दलका नेता कार्यकर्ताबाहेकका नागरिकलाई पो हो कि भन्ने पनि आशंका उब्जिएको छ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा देशभर नै दीप प्रज्वलन गरिएको थियो । दमकमा युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारी सहित युवा नेताहरुको पनि बाक्लो उपश्थिति थियो । हुनत केन्द्रले सामाजिक दुरी कायम गर्दै दीप प्रज्वलन गर्न परिपत्र जारी गरेको थियो । तर केन्द्रकै अनुरोधको बेवास्ता गरि दीप प्रज्वलन गरिनु नेतृत्वको निर्देशन नमान्ने राजनीतिक परिपाटी अझै बाँकी नै छ भन्ने देखाएको छ ।














