चितवनका किसानले धानमा भुस मात्रै भएपछि धानबारीमै आगो लगाएका छन । चितवनको राप्ती नगरपालिका वडा नम्बर चार बेलुवामा किसानले धान खेतमा आगो लगाएर जलाउनुका साथै ट्याक्टर लगाएर खेत जोतेका हुन् ।

अज्ञात रोगका कारण पाक्न लागेको धानको बाला सुकेर धानमा भुस मात्रै भएकोले धान खेतमा आगो लगाई खेत जोतेको किसानहरुले बताएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धानमा बाला लागेजस्तो देखिएपनि दाना नभइ भुसमात्रै भएको उनिहरुको भनाइ छ । किसानलाई परेको यो संकटको घडीमा संघीय देखि स्थानीय सरकार सम्म कसैले ध्यान नदिएको भन्दै आक्रोश पोखेका छन । चितवनमा यो वर्षमा धान र मकैमा समेत किरा लागेको छ । पूर्वी चितवनमा लगाइएको धानको कुल क्षेत्रफलको आधा क्षेत्रमा यो रोग लागेको छ ।

खैरहनी, रत्ननगर र राप्ती नगरपालिकाका करिब साठी प्रतिशत धान खेतीमा अज्ञात रोगले क्षति पुर्‍याएको छ। चितवनमा चैते धान करिब पाँच सय हेक्टरमा लगाइँदै आएको छ । धान जोन क्षेत्रमा मात्रै छब्बिस सय हेक्टरमा धान खेती हुन्छ।

हर्दिनाथ–१ धानमा समस्या

पूर्वी चितवनमा हर्दिनाथ-१ नामक धानमा यस्तो समस्या देखिएको हो । यस क्षेत्रका किसानले चैत पहिलो साता धान रोपेका थिए । राप्ती-४ बेलुवाआसपासमा झन्डै २० बिघामा लगाइएको धानमा यस्तै समस्या देखिएको छ । यो क्षेत्र धान जोन पनि हो ।

प्रधानमन्त्री कृृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाले पूर्वी चितवनमा लगाइएको धानको कुल क्षेत्रफलको आधा क्षेत्रमा यो रोग लागेको जानकारी दिए । खैरहनी, रत्ननगर र राप्ती नगरपालिकाका करिब ६० प्रतिशत धान खेतीमा यो रोगले क्षति पु-याएको छ ।