काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेसले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीरतापूर्वक प्रभावकारी काम गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

आज कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा कसैले अनियमितता गरेको पाइए कार्वाही गरिने प्रतिबद्धता जनाउनु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेस सांसदहरुलाईं प्रधानमन्त्री ओलीले यसमा दोषी पाइए नेपाली सेनालाई समेत नछाड्ने बताउनु भएको छ । प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन पुगेका कांग्रेस सांसदहरू खाँण, भीमसेनदास प्रधान, गगन थापा, राजन केसीलगायतले पीसीआर टेष्टको दायरा बढाउन, क्वारेन्टाइन व्यवस्थित गर्न, अस्पतालको व्यवस्थापन मिलाउन र स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको अनियमितता छानबिन गर्न पनि माग गरेका छन् ।

सरकारको ध्यान अहिले कोरोना महामारीमा रहेकाले दैनिक लेखा परीक्षण गर्न नसकिएको भन्दै प्रधानमन्त्री ओलीले कागज छँदैछ । छानबिन गर्दा तलमाथि देखिए सेनाले गरेको होस् वा जसले गरेको होस्, छाड्दिनँ भन्ने जबाफ दिनुभएको थियो ।

लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेकोमा चिन्तित ओलीले सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा जोड दिनु भएको थियो । भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टाइनमा कमजोरी भएको स्वीकार्दै वहाँले सुधार्ने बचन दिनुभएको प्रधानल जानकारी दिनुभयो ।

कांग्रेस सांसदहरुले आरडीटी परीक्षण रोक्न र पीसीआरको दायरा बढाउन माग गर्दा प्रधानमन्त्री ओलीले नेपालीमा रोग प्रतिरोधी क्षमता राम्रो भएको दोहोर्याउनु भयो ।